
काठमाडौं । राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो ।
महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो । सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं टुकुचा खोजीका लागि डोजर’सहित फिल्डमा उत्रेको हो ।
एक महिनायता महानगरले ‘अनधिकृत संरचना’ हटाउने अभियान जारी राखेको छ । खोला अतिक्रमणमुक्त बनाउने र दायाँबायाँ सडक कोरिडोर बनाउनेगरी बिहीबारदेखि अभियान चुस्त बनाइएको छ ।
टुकुचा खोला पुरेर त्यसमाथि वर्षौंदेखि भवनलगायत संरचना बनाइएका छन् । महानगर टोली टुकुचा खोज्ने क्रममा डोजरसहित जय नेपाल हल प्रांगण पुगेको हो ।
टोलीले नक्साअनुसार गरेको ‘मार्किङ’ आधार बनाएर डोजर चलाउँदा हल परिसरमा १५ फिट खनेपछि टुकुचा खोला फेला परेको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा सो क्षेत्रमा पुग्दा ‘गायब’ बनाइएको छ ।
स्थानीय तथा सम्पदा संरक्षक क्षेत्रका अभियन्ताले ‘टुकुचा खोला पुरेर घर भवन बनाएको’ भन्दै टुकुचा संरक्षण गर्नुपर्ने माग उठाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस