aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ३१ भदौ २०७९
कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद

काठमाडौं ।  विशेष अदालतले कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम घोटालामा दोषी देखिएका नेपाली सेनाका पूर्वसहायक रथी रमेशराज विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले गत ७ भदौमा दोषी ठहर गरे पनि सजाय भने सोमबार निर्धारण गरेको हो ।

३१ लाख ३८ हजार ६ सय ४४ जरिमाना

पूर्वसहायक रथी विष्टलाई विशेष अदालतले चार वर्ष कैद सजाय सुनाउनुका साथै ३१ लाख ३८ हजार ६ सय ४४ रुपैयाँ जरिमाना सुनाएको छ । त्यस्तै, अदालतले बैंकको ‘टेलर सहायक’ दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाउँदै ३ करोड ९२ लाख ४४ हजार जरिमाना भराउन भनेको छ ।

अख्तियारको अनुसन्धानमा टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टको खातामा हिनामिना गरेकामध्ये ३३ लाख जम्मा गरेको भेटिएको थियो । विष्टलाई अदालतले जरिमाना सजाय निर्धारण गर्दा खातामा हालेको रकम आधार बनाइएको छ ।

बाँकी रकम बैंककी टेलर सहायक दीपिका रेग्मीले हिनामिना गरको देखिएपछि सोहीबमोजिम अदालतले सजाय निर्धारण गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्युरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २९ पुस २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा दायर अन्य प्रतिवादीलाई भने विशेष अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस