aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हर्क साम्पाङ धरानमा उदाउनुको भित्री कुरो यस्तो छ

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०१ असोज २०७९
हर्क साम्पाङ धरानमा उदाउनुको भित्री कुरो यस्तो छ

काठमाडौं । विकासोन्मुख सहरका रूपमा परिचित छ, धरान । शिक्षा, स्वास्थ्य क्षेत्रले सम्पन्न सहर भए पनि यहाँ वर्षौंदेखि खानेपानी समस्या ज्यूँका त्यूँ छ । धराने जनताले ‘खानेपानी सहज रूपमा पाउनुपर्छ’ भनेर कैयौं आन्दोलन गरे ।

कहिले खानेपानी मुहान फुट्दा कर्मचारीलाई जानकारी गराउने त कहिले खानेपानी मुद्दा विषयमा उपमहानगरको गेटै भत्काउनेसम्मका आन्दोलन भए ।

विशेषगरी, धरानमा फागुन, चैत र वैशाखमा खानेपानी हाहाकार हुन्छ । त्यसबेला मात्रै जुट्छन्, कतिपय अभियन्ता पनि । कतिपय दल चुनावताका खानेपानी समस्या समाधान विषयमा ‘राजनीतिक एजेन्डा’का रूपमा अगाडि सार्दै आएका छन् । तर, उनीहरूका एजेन्डा चुनावभर सीमित हुन्छ ।

पटकपटक कम्युनिस्ट जिताएका धरानले २०७६ को उपनिर्वाचनमा परिवर्तन चाहेका कारण कांग्रेस चुने । तर, कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित तिलक राईले पनि खानेपानीका लागि आशलाग्दो नेतृत्व गर्न नसकेपछि गत चैतमा उपमहानगरअगाडि रित्तो गाग्री लिएर खानेपानी नपाएको धरान आन्दोलनमा उत्रियो । त्यस क्रममा धरान उमपहानगर गेटै भत्काउने प्रयास भए ।


‘धराने एक होऔं’, ‘धरान खानेपानी व्यवस्थापन बोर्डको सर्तअनुसारको खानेपानी खोइ रु’, ‘जारको पानीले नुहाउन सक्दैनौं’, ‘जिम्मेवारी वहन गर’लगायत नाराबाजीसँगै गेटै उखेल्ने भीड उचालियो ।

आन्दोलनका क्रममा कतिपय कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि भौतिक आन्दोलनसमेत भए । तर, आन्दोलनकै भरले धरानले दिगो रूपमा खानेपानी पाएन । आन्दोलन चुलिँदै गयो ।

खानेपानी संस्थान बोर्डका कर्मचारीमाथि ‘कामै नगरेको’ आरोप लगाइए । यही आन्दोलनको नेतृत्व र अगुवाइ गर्ने पात्र थिए, हर्कराज राई ९हर्क साम्पाङ० । जो आज धरान उपमहानगर प्रमुख छन् ।

विगतमा खानेपानी समस्या विषयमा खरो प्रश्न उठाउँदै आएका नगरप्रमुख साम्पाङले विगतका अभियान सञ्चालन नगरे पनि ‘खानेपानी समस्या समाधान निम्ति खोलाखोल्सी धाउँदै’ छन् । उनको श्रमदान पकुवा र निसाने खोलासम्म पुगिसक्यो ।

बर्खायाममा कहिलेकाहीँ पाइप बगाउँदा धराने जनताले पर्याप्त खानेपानी पाउँदैनन् । केही दिनअघि निरन्तर वर्षाका कारण बाढीले पाइप बगायो । झन्डै दुई सातासम्म पानी नै आएन ।

जारको पानीमै निर्भर धरानमा प्रमुख साम्पाङले ‘सप्तकोसीको पानी खुवाउने’ सपना देखेका छन् । ‘पानी मुद्दा’ नै उनलाई चुनाव जित्न सहज बनायो । साम्पाङले ‘जसरी पनि धरानमा खानेपानी खुवाएरै छाड्ने’ सपना देखेका उनलाई धरानेले स्वतन्त्रबाट निर्वाचित गराए ।

प्रतिक्रिया दिनुहोस