aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कतिबेला ज्यान जान्छ, भरोसा नभएका यी सडक

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०१ असोज २०७९
कतिबेला ज्यान जान्छ, भरोसा नभएका यी सडक

काठमाडौं । नेपालगन्जबाट जुम्ला जाँदै गरेका चालक हरिबहादुर कार्की राजमार्गमा ‘कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु’ दिनहुँ देखिरहेका हुन्छन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनी भन्छन्, ‘भगवान्को नाम जपेर यात्रा गर्नुपर्ने डर लाग्दो अवस्था छ ।’

सामान्यत एक दिनको यो बाटो पार गर्न वर्षात्का बेला कालिकोटबाट नेपालगन्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्छ,’ कार्की भन्छन्, ‘वर्षामा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छ ।’

कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ ।

‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्सीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्,’ कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो रु केही थाहा छैन ।’

त्यसो त, सवारीचालक कार्की मात्र होइन, राजमार्गमा यात्र गर्ने यात्रु सुनिनसक्नुसम्मका पीडा सनाउँछन् । ‘ट्र्याक’ खुलेको भएको डेढ दशक पुग्दासमेत सडकको अवस्था सुधार हुन नसकेको तिलागुफा नगरपालिका–६ जुविधाकी उर्मिला शाही बताउँछिन् ।

‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले असाध्यै दुःख पाएका छन्,’ घरैछेउको राजमार्ग दिनहुँ नियाल्दै आएकी उर्मिला भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति भए कर्णालीका जनताले सुख पाउँथे कि रु’

आँखाअगाडि सडकछेउमा गाडी झुन्डिएका सबैले देखेका छन् तर आफूहरूले ‘भोट दिएर माथि पुगेका मन्त्रीले अझै नदेखेको’ उर्मिलाको भनाइ छ । उनी भन्छिन्, ‘भगवान् भरोसामै यात्रा गर्न बाध्य छौं ।’

प्रतिक्रिया दिनुहोस