aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मानिसको जस्तै हात्तीको पनि विधिपूर्वक न्वारन गर्ने यस्तो चलन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०१ असोज २०७९
मानिसको जस्तै हात्तीको पनि विधिपूर्वक न्वारन गर्ने यस्तो चलन

काठमाडौं । धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ । 

सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ । चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन् । पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ ।

केन्द्रका प्रमुख मनपुरन चौधरीले गत साता एउटी छावीको नाम स्वर्णकली राखिएको बताउँदै भने, “मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ ।”

हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ ।  

“केन्द्रको प्रस्तावमा प्रमुख संरक्षण अधिकृतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहमतिमा नामकरण गर्ने चलन छ,” केन्द्र प्रमुख चौधरीले भने ।

लोकतन्त्रकलीको तेस्रो सन्तानका रूपमा स्वर्णकली भदौ १२ गते जन्मिएकी हो। निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले निकुञ्जको स्वर्ण महोत्सवका अवसरमा जन्मिएकाले यसको नाम स्वर्णकली राखिएको बताए । २०६३ साल जेठ ११ गते खोरसोरमा जन्मिएकी लोकतन्त्रकलीको नाम सो वर्ष लोकतन्त्र स्थापना भएकाले त्यसरी नामकरण गरिएको थियो ।

हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ । शाहीकालमा दरबारले नै हात्तीको नामकरण गर्ने चलन रहे पनि अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ । मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ । 

छावाछावी जन्मँदा खुसीयालीमा वनदेवीलाई बोका बली दिएर प्रसाद बाँड्ने र भोजभतेर गर्ने प्रचलन छ ।  

प्रतिक्रिया दिनुहोस