aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपत्यकामा आज एमालेको प्रदर्शन, पार्टीको झण्डा नबोक्नुको कारण यस्तो छ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०१ असोज २०७९
उपत्यकामा आज एमालेको प्रदर्शन, पार्टीको झण्डा नबोक्नुको कारण यस्तो छ

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम गर्दैछ । उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू हुने एमालेले जनाएको छ ।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा संविधान दिवसको अवसरका आयोजित ‘वाकथन’ कार्यक्रममा सहभागी भई राष्ट्रिय दिवस सँगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ । संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले कार्यक्रममा पार्टीको झण्डा, ब्यानर नबोक्ने एमालेले जनाएको छ ।

पाँचै स्थानबाट सुरु हुने पदयात्रा शहीदगेटमा एकै ठाउँ जम्मा भएर बसन्तपुर पुग्ने एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट सुरू हुने पदयात्राको नेतृत्व गर्नेछन् । महासचिव शंकर पोखरेल पनि बानेश्वरबाट सुरू हुने पदयात्रामा सहभागी हुनेछन् ।

यसैगरी लैनचौरबाट सुरु हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट सुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने नेकपा (एमाले) स्थायी कमिटीका सदस्य जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए । एमालेले नेता, कार्यकर्ता, सांसद लगायत सबैलाई पाँचवटा स्थानमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुन आह्वान गरेको छ ।

पदयात्रा टोली बसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिएको जनाएको छ । राष्ट्रिय दिवसको यस कार्यक्रमलाई एमालेले पार्टीपङ्तिमा सीमित नराखी यसको दायरा फराकिलो बनाएको हो ।  

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले असोज १ गतेलाई तय गरेको हो । 

प्रतिक्रिया दिनुहोस