aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

लक्ष्मी बैंकको कम्पाउण्डमा बालेनको डोजर, खोतल्दा भेटियो टुकुचा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ असोज २०७९
लक्ष्मी बैंकको कम्पाउण्डमा बालेनको डोजर, खोतल्दा भेटियो टुकुचा

काठमाडौं । गएको बिहीबारदेखि टुकुचा खोला खोजी अभियानमा लागेको काठमाडौं महानगरपलिकाको टोली आज हात्तिसारस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा प्रवेश गरेको छ । डोजरसहित प्रवेश गरेको टोलीले बैंकको कम्पाउण्ड मुनि टुकुचा खोला बगिरहेको भेटिएको छ । 

बैंकको कम्पाउण्डमा डोजरले खोतल्दा १० फिटमुनि टुकुचा खोला बगिरहेको भेटिएको थियो । महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ। 

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने पनि महानगरले चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको बताइएको छ । 

सहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको छ । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको थियो । 

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस