काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८र७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो ।
यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना (साउन–भदौ)मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब ७६ करोड रुपियाँ कर राजस्व र १९ अर्ब ९० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको थियो ।
चालू आर्थिक वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यसमध्ये कर राजस्व १२ खर्ब ९५ अर्ब ३७ करोड र गैरकर राजस्व एक खर्ब सात अर्ब ७७ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलन भएको राजस्व कुल राजस्व लक्ष्यको १०.२५ प्रतिशत मात्र हुन आउँछ । त्यस्तै कर राजस्व भने लक्ष्यको १०.०९ प्रतिशत मात्र सङ्कलन भएको छ । गैरकर राजस्व कुल लक्ष्यको १२.१६ प्रतिशत मात्र सङ्कलन भएको छ ।
७९ करोड अनुदान
सोही अवधिमा सरकारले ७९ करोड ३० लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यो कुल लक्ष्यको १।४३ प्रतिशत मात्र हो । चालू आर्थिक वर्ष ५५ अर्ब ४५ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य सरकारले राखेको छ । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले १८ अर्ब ४२ करोड रुपियाँ प्राप्त गरेको छ ।
राजस्व, अनुदान र अन्य प्राप्तिसहित सरकारले दुई महिनामा कुल एक खर्ब ६३ अर्ब दुई करोड रुपियाँ प्राप्त गरेको छ । यो कुल लक्ष्यको ११.१८ प्रतिशत हो । यी सबै शीर्षक गरेर सरकारले चालू आर्थिक वर्ष १४ खर्ब ५८ अर्ब ६० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसबाहेक नपुग रकम आन्तरिक तथा बाह्य ऋणमार्फत पूर्ति गर्ने लक्ष्य सरकारले राखेको छ ।
एक खर्ब ३४ अर्ब खर्च
सरकारले आव २०७९/८० को पहिलो दुई महिनामा एक खर्ब ३४ अर्ब ३३ करोड रुपियाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले कुल बजेटको ७.४९ प्रतिशत खर्च गरेको हो । यो गत आर्थिक वर्षको साउन–भदौमा ८९ अर्ब ९३ करोड रुपियाँ मात्र खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस