काठमाडौं । भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ६ जनाको उद्दार गरि नेपाल ल्याइएको छ । मेडिकल व्यवसायी एवं समाजसेवी नेता दुर्गा प्रसाईँको पहलमा भिजिट भिसामा दुबई पुराई एक वर्षदेखि अलपत्र पारिएका ६ जना जीवित नेपाली र आत्महत्या गरी मृत्यु भएका १ नेपालीको शव नेपाल ल्याइएको हो ।
उद्धार गरिएका सबै नेपालीको खर्च प्रसाईँ आफैले व्यवस्थापन गरेका छन् । शवको खर्च सम्बन्धित परिवारले नै गरेको हो । शनिबार एक कार्यक्रम गरी उद्दार गरिएका युवाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको छ । उद्दार गरिएका युवा नवलपरासी दुबैलिया ९ का राजभर अङ्गदले आफूले एक वर्षदेखि दुबईमा खान र बस्न नपाएर अलपत्र परेको दर्द सुनाए। एक वर्षदेखि दुबईका सडक र पार्कमा बसेर जीवन गुजार्नु परेको उनले बताए । उनले आफूलाई दलालहरूले झुक्याएर भिजिट भिसामा दुबई पुराई अलपत्र पारेको गुनासो गरे ।
उद्दार भएका शुनिलबहादुर राना, अञ्जन सेन, देवचन्द्र गुरुङले पनि दुबईमा पाएको दुःख सुनाए । नेपाल फर्कन पाईएला भन्ने आश नै मारिसकेको बताउँदै उनीहरूले प्रसाईँले गरेका सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । पुनर्मिलन कार्यक्रममा बोल्नु हुँदै समाजसेवी प्रसाईँले सरकारले अलपत्र नेपालीको उद्धारमा केही गर्न नसकिरहेको बताए ।
उनले यो पटक नेपाल ल्याइएमा पाँच युवाहरूको लागि आवश्यक आर्थिक व्यवस्थापन समेत गरिदिएको भए पनि आत्महत्या गरी मृत्यु भएका झापाका भुपेन्द्रको लागि भने आवश्यक पहल मात्र गरेको बताए । मृतक भुपेन्द्रको परिवार आर्थिक रुपमा सक्षम भए पनि केही उल्झनका कारण शव ल्याउन असमर्थ भएकोमा आफूले सहजीकरण मात्र गरिदिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस