aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज समानुपातिकको सूची बुझाउने अन्तिम दिन, अहिलेसम्म कुन दलले के तयारी गरे ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०३ असोज २०७९
आज समानुपातिकको सूची बुझाउने अन्तिम दिन, अहिलेसम्म कुन दलले के तयारी गरे ?

काठमाडौं ।  प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलले टुंगो लगाएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलले समेत समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएका हुन् ।

हजारौंको नाममा कैंची चल्यो

प्रदेश, जिल्ला, क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि आवश्यकताभन्दा बढीको नाम सिफारिस भएपछि टुंगो लगाउन उनीहरूलाई सकस परेको थियो । राजनीतिक दलको पछिल्लो हप्तादेखि जारी बैठकले अन्तिम नामावली टुंगो लगाउँदै सोमबार निर्वाचन आयोगमा बन्द सूची बुझाउने तयारी गरेका छन् ।

प्रमुख राजनीतिक दलले प्रदेश, जिल्ला, क्षेत्रबाट सिफारिस भएका हजारौंको नाम काँटछाट गर्दै अन्तिम नामावली टुंगो लगाएका हुन् । आवश्यकताभन्दा बढी नाम सिफारिस भएकाले राजनीतिक दलले आइतबार नामावली बुझाउन नसकेका हुन् । उनीहरूले सोमबार आयोगको कार्यालयमा बन्द सूची बुझाउने जनाएका छन् ।

एमालेमा अन्य पार्टीबाट आउनेको हकमा मापदण्ड लचिलो
एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची टुंगो लगाएको हो । एमालेले समानुपातिक उम्मेदवार बनाउन तयार गरेको मापदण्ड केही कठोर थियो । तर, अन्य पार्टीबाट आउने नेताको हकमा भने लचिलो विधि अपनाएको छ ।

आइतबार तयार गरिएको सूची सुरुवाती मात्रै भएको बताउँदै प्रवक्ता गुरुङले भने, ‘१६ गतेसम्म तलमाथि हुन सक्छ । यो सूचीमा भएकाहरूलाई बाहिर निकालेर प्रत्यक्षतर्फ लैजान पनि सक्छौं । उताबाट यता ल्याउने स्थिति पनि हुन सक्छ । तर, आम रूपमा हेरफेर हुन सक्ने सम्भावना कम छ ।’

एमाले सचिवालय बैठकले १ सय १० जना उम्मेदवारको नाम टुंगो लगाएको प्रवक्ता गुरुङले बताए । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।

एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले बताए । आदिवासी जनजातितर्फ ३२ जना ९१६ महिला र १६ पुरुष०, खस आर्यतर्फ ३४ जना ९१७ महिला र १७ पुरुष०, थारूतर्फ सात जना ९चार महिला र तीन पुरुष०, दलिततर्फ १५ जना ९आठ महिला र सात पुरुष०, मधेसीतर्फ १७ जना ९नौ महिला र आठ पुरुष०, मुस्लिमतर्फ पाँच जना ९तीन महिला र दुई पुरुष० गरेर महिला ५७ जना हुने गरेर १ सय १० जना समानुपातिकतर्फको उम्मेदवारको नाम तयार गरेको उनले बताए ।

टुंगो नलागेपछि माओवादीले गठन गर्‍यो कार्यदल
एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाए पनि माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रमा उम्मेदवार हुनेको संख्या बढी भएकाले टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले बताए । कार्यदललाई सूची बढाउने÷घटाउने, मापदण्ड पूरा भए÷नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको उनले बताए ।

एकीकृत समाजवादीले टुंगो लगायो
यता एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालका अनुसार आइतबार बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । सोमबार निर्वाचन कार्यालयमा सो नामावलीको बन्द सूची बुझाउने उनले बताए ।

जसपाले पनि टुंगो लगायो
जसपाले पनि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले बताए ।

प्रवक्ता सुमनका अनुसार पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रूप दिएको र केही प्राविधिक काम सकेर सोमबार नै आयोगमा सूची बुझाइने बताए ।

पार्टीका तर्फबाट प्रतिनिधि सभाका लागि १ सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा बुझाउने उनले बताए । उम्मेदवारको सूची तयार गर्न जसपाको ३१ भदौमा र १ असोजमा कार्यकारिणी समितिको बैठक बसेको थियो भने २९ र ३१ भदौमा संसदीय बोर्डको बैठक भएको थियो ।

लोसपाले पनि टुंगो लगायो
यसैबीच लोसपाले समेत समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस