काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।
'एक सय वर्षभन्दा अगाडिको यो संरचना अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ' जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, 'परम्परागत तरिकाबाट बज,चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना जथाभाबी भत्काउनेभन्दा पनि संरक्षण जरुरी छ ।' त्यस्तै धेरै पहिला टुकुचालाई भूमिगत बनाइएका कारण यस क्षेत्रमा रहेका घरधनीहरूको पनि कुनै गल्ती नभएको उनको बुझाइ छ । 'त्यो समयमा कुनै उद्देश्यका साथ टुकुचालाई छोपिएको थियो होला' उनले भने,'त्यसको दण्ड अहिलेका घरधनीले भोग्नु जायज हुँदैन ।' यो अतिक्रमण नभई तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन भएको उपाध्यायको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस