aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

त्रिविका दुई ताला खुले, अझै पाँच ठाउँमा बन्द

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०३ असोज २०७९
त्रिविका दुई ताला खुले, अझै पाँच ठाउँमा बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि लगाइएको दुई वटा ताला खुलेको छ । त्रिवि कर्मचारीको चौतर्फी दबाबपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई ठाउँको ताला खुलाएपनि बाँकी पाँच ठाउँको भने खुलेको छैन

नेविसंघले त्रिविको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको हो ।

नेविसंघले गत २७ असार देखि यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो । गत १२ साउन देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ ।

नेविसंघले परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै तालाबन्दी गर्दै आएको छ ।

त्रिविले भने उनीहरुलाई कारबाही गरिसकेको र व्यक्तिगत गोपनियताका कारण नाम सार्वजनिक नगरिएको जनाउने गरेकोछ ।

तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ । कर्मचारी संघसंगठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए । कर्मचारीहरुले नेविसंघका नेता कार्यकर्तालाई आईतबार कर्मचारीले विरोध स्वरुप घेराबन्दीपनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस