aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

वार्षिक दुई करोडको लप्सी बाहिरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
वार्षिक दुई करोडको लप्सी बाहिरिने

सिन्धुपाल्चोक । पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । 

यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता  वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक) का अध्यक्ष राजकुमार भण्डारी बताउँछन् । 

जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सीे साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष रु दुई  करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ । 

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जीतबहादुर गिरीले वार्षिक तीन लाखको कारोबार गर्दै आएको बताएका छन् । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ । 

ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा  प्रशोधन केन्द्रले वार्षिक आँठदेखि रु १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताउँछन् ।

उनका अनुसार यसको बजार राम्रो भएकाले अब वृहतरुपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यवसायीकरुपमै यसको खेती गरिएको  लघु उद्यमीसङ्घका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिन्छन् । 

यसबाट हाल तीन सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी दुई हजार जनालाई रोजगारीको अवसर  दिलाउने कार्यक्रम रहेको उनी उल्लेख गर्छन् । 

प्रतिक्रिया दिनुहोस