
काठमाडौं । मात्र पाँच महिनाअघि उनी सुनौलो सेक्सोफोनको माधुर्यसँगै ७२ वर्षको उमेरमा एकाएक तन्नेरी वयमा फर्किएका थिए । त्यति बेला भजनशिरोमणि भक्तराज आचार्यको अँगालोमा बाधिँदै गर्दा शुभबहादुर सुनाम अझ चार दशकपछाडि नै पुगे ।
जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ, शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर‘
४० वर्षअघि रेडियो नेपालमा स्वरांकित बमबहादुर थापा ‘जिताली’कृत यही गीतको धुन सेक्सोफोनमा सिँगार्दै गर्दा भावविह्वल भक्तराज शुभबहादुरलाई अँगालोमा नबेरी रहनै सकेनन् ।
‘त्यो धुन प्रस्तुत भइरहँदा म भावविभोर भइरहेको थिएँ, र मेरा आँखाबाट आँसु खसिरहेका थिए,’ संगीतकार किरण कँडेल गत १७ वैशाखको त्यो दिन सम्झन्छन्, ‘सेक्सोफोनको धुनबाट यसरी मुर्छित भएको मेरो जीवनको पहिलो घटना थियो त्यो ।’
सम्भवतः शुभबहादुरको अन्तिम सार्वजनिक प्रस्तुति पनि ‘भक्तराज सम्मान’कै पल हुनुपर्छ ।
‘नेपाली चलचित्रका संगीतकार, संगीत गुरु, सेक्सोफोनका शाहबाजको एकल साँझ गर्ने सोच अपुरो रह्यो,’ संगीत अन्वेषक प्रकाश सायमी भन्छन्, ‘यसका निम्ति गायिका रोजी श्रेष्ठ र नेवाः साधना कला केन्द्रले उहाँसित कुरासमेत थालिसकेका थिए ।’
स्वदेशी सेक्सोफोनका ‘बादशाह’ थिए शुभबहादुर । सोमबार बिहान ४ बजे उनीसँगै नेपाली संगीतले सेक्सोफोनको एउटा युग गुमाएको छ ।
‘म ७२ वर्षको भएँ, अझै पनि संगीतमा साधनारत छु,’ संगीतकार सुनाम भन्ने गर्थे, ‘यसैमा जीवन अर्पण गरेँ र बाँचुन्जेल संगीतमै रहन्छु ।’
रेलिमाई रेलिमाई रेलिमाई
लाहुरे दाइको रेलिमाई‘
गायिका सुकमित गुरुङको आवाजकृत ‘वेस्टर्न प्mलेभर’को यो गीत नसुन्नै कमै होलान् † ४० को दशकतिर चोक–गल्ली र युवाओठमा झुन्डिएको यो गीत उनै शुभबहादुरले संगीत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस