
वर्षाको सिजनमा धान बालीमा किरा लाग्नु स्वभाविक हो । तर पश्चिममा थारु समुदायमा ती किरा धपाउने प्रचलन फरक खालको छ । सुदूरपश्चिम र ५ नं. प्रदेशका तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष भदौ महिनामा 'हरेरी' पूजा गरेर धानमा लाग्ने गुभिया, गाँधी, फंट्यांग्रा लगायतका किरा धपाउने गरेका छन् ।
प्रत्येक गाउँमा आफ्नै अनुकूलमा सो पूजा राख्ने गरिएको छ । हसनपुरका देशबन्ध्या गुर्वा मोतीराम चौधरीका अनुसार सात मुखे दियालोमा बत्ति बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ । यसरी पूजा शुरु गरेको रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्साको घरमा दियालो बालेर जाग्राम बस्छन् ।
पूजा गर्न प्रयोग गरेको दूध भोलिपल्ट खेतभरि छर्किन्छन् । यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस