aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘पियोर इभीको मोटरसाइकल एक पटक चार्ज गर्दा १४० किलोमिटरसम्म चल्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९

करिब दुई वर्षदेखि ह्वाइट लोटस मोटर्स प्रालिले इभी स्कुटर बिक्री गर्दै आएको छ । ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर बिक्री वितरण गर्दै आएको यस प्रालिले केही महिना अघिदेखि इलेक्ट्रिक बाइक समेत बिक्री गर्दै आएको छ । छोटो समयमा सयौँ ग्राहकहरूको मन जित्न सफल पियोर ब्रान्डका स्कुटर तथा बाइक कस्तो होला भनेर धेरैलाई जिज्ञासा हुनसक्छ । यसका विशेषता, अन्य ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा बाइक भन्दा यो ब्रान्ड के कुराले भिन्न छ लगायत विषयमा आर्थिक न्युज डटकमका विजय फुयाँलले कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्गीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:       

‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको दुई वर्ष भएको छ । सुरुवातमा यो ब्रान्ड नेपालमा भित्र्याउने सोच कसरी आयो ?

यो ब्रान्ड नेपालमा लञ्च गरेको दुई वर्ष भइसकेको छ । नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक साधनहरूको दिगो ब्रान्ड दिनु पर्छ भन्ने लाग्यो । यसो गर्न सकेमा व्यवसाय पनि लामो समयसम्म टिक्छ । अटो मोबाइल क्षेत्रमा यो व्यवसाय शुरु गर्दा हाम्रो नयाँ अनुभव पनि रहेको थियो । नेपाली उपभोत्ताहरुलाई चीनमा बनेकाभन्दा भारतमा बनेका सवारीसाधन प्रतिको विश्वास केही बढी रहेको पाइयो । यसले गर्दा हामीले भारतमा उपलब्ध हुने ब्रान्डमध्ये टप फाइभ भनेर सेलेक्ट गर्‍यो । यसमध्ये सबै विशेषता लगायत हेर्दा हामीले ‘पियोर इभी’ रोजेर ल्याएका हौँ ।  

ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

नेपाली उपभोक्ताहरूले सोचेको जस्तो विशेषता ‘पियोर इभी’ भएकोले पनि ग्राहकहरूले धेरै नै मन पराएका छन् । बजारमा आएका सवारी साधनभन्दा केही पृथक ‘पियोर इभी’ रहेको छ । एक पटक यो सवारी साधन खरिद गरिसकेपछि लामो समयसम्म ढुक्क भएर चलाउन सक्ने छन् ।

कोरोना महामारीको बेलामा नेपालमा यो ब्रान्ड भित्र्याउन त्यति सजिलो थिएन । यसको सर्भिसका लागि हामीले डे वान देखि नै विभिन्न योजनासहित अगाडी बढेका थियौँ । ‘पियोर इभी’ भित्र्याउँदा शुरुमै यसका लागि इन्जिनियरहरु फ्याक्ट्रीमा आउनु पर्ने हुन्छ । यसका साथै आवश्यक स्पेयरपार्ट र टेक्निसियनहरु पनि उपलब्ध गराउनु पर्ने हुन्छ । यसको व्यवस्थापन पनि हामीले गर्‍यौ । अप्ठ्यारोलाई पार गर्दै हामीले यो ब्रान्ड नेपालमा भित्र्याउन सफल भयौँ । 

‘पियोर इभी’ बिक्री वितरणका लागि काठमाडौंमा मात्रै पाँच वटा डिलर रहेका छन् । काठमाडौं बाहिर १७ वटा शहरमा डिलर मार्फत ‘पियोर इभी’का उत्पादनहरू बिक्री वितरण गर्दै आएका छौँ । दुई वर्षको अवधिमा इलेक्ट्रिक भेइकलहरुको डिलर नेटवर्कको हिसाबले नेपालको सबैभन्दा ठूलो डिलर नेटवर्क बनाउन सफल भएका छौँ । 

अन्य इलेक्ट्रिक स्कुटरको तुलनामा ‘पियोर इभी’ स्कुटर के कुराले भिन्न छ ? 

साधारण ग्राहकले हेर्दा खेरी सबै स्कुटर उस्तै जस्तो लाग्छ । बजारमा अलि कम मूल्यका पाइने इभि स्कुटरमा लिड एसिड ब्याट्री प्रयोग गरिएको हुन्छ । लिड एसिड ब्याट्रीमा १२/१४ महिनाको मात्रै ब्याट्री लाइफ हुन्छ । त्योभन्दा बढी टिक्नु भनेको राम्रो हो । तर, वास्तवमा त्यसको लाइफ निकै छोटो हुन्छ । लिड एसिड भएको ब्याट्री कम मूल्यको हुनु स्वाभाविक नै हो किनकि त्यसमा पुरानो प्रविधि प्रयोग गरिएको हुन्छ ।   

तर, ‘पियोर इभी’ इलेक्ट्रिक स्कुटर अन्यभन्दा धेरै नै भिन्न रहेको छ । यी स्कुटरमा २२ सय वाटको मोटर र सजिलै एक ठाउँबाट अर्को ठाउँमा लगेर रिचार्ज गर्न सकिने ६० भोल्ड ४० एएच लिथियम आयन ब्याट्री छ । यो एक पटक चार्ज गरेपछि ६० किलोमिटर प्रति घण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुड्छ । कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ । यसमा एलसिडी स्क्रिन, अलोए ह्विल, एन्टी थिफ प्रोभिजन विथ स्मार्ट लक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन् । 

‘पियोर इभी’ इलेक्ट्रिक बाइक पनि भित्र्याउनु भएको छ । ग्राहकको माग अनुसार नै ल्याउनु भएको हो ?  

सुरुवातमा हामीले ‘पियोर इभी’ स्कुटर मात्रै रहेको थियो । तर, ग्राहकहरू यस ब्रान्डका मोटरसाइकलहरू पनि खोज्न आउनु हुन्थ्यो । अहिले हामीले स्कुटरसँगै मोटरसाइकल पनि उपलब्ध गराउँदै आएका छौँ । जस्तो सुकै डाँडाकाँडामा पनि चलाउन सकिन्छ । ड्राइभिङ रेन्ज पनि १४० किलोमिटरसम्म छ । स्कुटरमा ६० किमीको टप स्पिड छ भने इलेक्ट्रिक मोटरसाइकलमा ८५ सम्मको छ । खास गरी युवाहरू जसले अहिले बाइक त चढिरहनु भएको भएको छ तर उहाँहरूलाई त्यो बाइकलाई छोडेर विद्युतीय बाइक रोज्न उपयुक्त भएको अवस्थामा हामीले यो इलेक्ट्रिक मोटरसाइकल ल्याएका हौँ । अहिले हाम्रा सबै डिलरहरूमा विद्युतीय मोटरसाइकल पनि उपलब्ध गराएका छौँ ।   

पछिल्लो समय इलेक्ट्रिक सवारी साधनहरूमा ग्राहकहरू आकर्षित हुँदै आएका छन् । इलेक्ट्रिक सवारीसाधनको माग पनि बढ्दो छ । ग्राहकको माग अनुसार नै हामीले ‘पियोर इभी’ मोटरसाइकल नेपालमा भित्र्याएका हौँ ।  

हाम्रो ‘पियोर इभी’ मोटरसाइकल अन्य मोटरसाइकलभन्दा पृथक लुक्स भने देखिँदैन । अन्यजस्तै नै देखिन्छ । लामो समयसम्म यात्रा गर्नु पर्‍यो भने पनि कर्फटेबल नै हुन्छ । यस मोटरसाइकलको ब्याट्रीको क्वालिटी पनि एकदमै राम्रो रहेको छ । 

‘पियोर इभी’ को सवारी साधनमा प्रयोग हुने पार्टपुर्जाहरूको उपलब्धताको अवस्था कस्तो छ ?

हामीले ‘पियोर इभी’ सवारीको सर्भिसको लागि सफ्टवेयरको विकास गरेका छौँ । काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरूमा यसको सर्भिस सेवा दिइरहेका छौँ । काठमाडौं बाहिर पनि हाम्रा सबै डिलरहरूमा यसका पार्टहरू उपलब्ध छन् । काठमाडौं बाहिरका १७ वटा डिलर मार्फत ‘पियोर इभी’का सवारीमा प्रयोग हुने पार्टहरू सहजै उपलब्ध हुन्छ । पूर्वको बिर्तामोडदेखि लिएर इटहरी, जनकपुर, बर्दिबास, चितवन, बुटवल, दाङ, सुर्खेत लगायत प्रमुख शहरहरुमा यस सवारीमा टेक्निसियनहरु पनि हुनुहुन्छ । 

तरलता अभावको असर ‘पियोर इभी’ क्षेत्रमा कतिको परेको छ ? 

यसको असर पक्कै पनि परेको छ । सुरुवातदेखि नै हामीले ६ वटा बैंकको क्रेडिट कार्डबाट खरिद पाउने सुविधाका लागि सम्झौता गरेका छौँ । नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले जिरो डाउन पेमेन्टमा ‘पियोर इभी’ का सवारी साधन खरिद गर्न सक्नु हुनेछ । १८ देखि २४ महिनासम्म ग्राहकले ऋण तिर्न सक्नु हुन्छ । साथै हामीले दुई वटा फाइनान्स कम्पनीहरुसंग पनि डाउन पेमेन्टमा खरिद गर्न सम्झौता गरेका छौँ । ग्राहकले चाहनु भयो यसको सुविधा लिन सक्नु हुनेछ । यसका साथै हामीले दसैँ तिहारको अवसरमा ५० प्रतिशत डाउन पेमेन्टको पनि व्यवस्था गरेका छौँ ।  

नेपालमै पहिलो पटक ईभी नाडा सो हुँदैछ । यस एक्स्पोमा तपाईँहरूको तयारी कस्तो हुँदैछ ? 

तयारीको अन्तिम चरणमा छौँ । हामी धेरै नै एकसाइटेट पनि छौँ। एक्स्पोमा साधारण ग्राहकहरूले धेरै थरीका सवारी साधनहरुलाई एउटै छानामुनि दाँजेर हेर्न पाउनु हुन्छ । एक्स्पोमा डिलरको लागि इच्छुक धेरै व्यवसायीक साथीहरू भेट्छौँ जस्तो पनि लाग्छ । साधारण ग्राहक र डिलरहरूलाई हामी स्वागत गर्न आतुर छौँ ।

भविष्यमा ‘पियोर इभी’लाई नेपालमै एसेम्बल गर्ने कुनै योजना बनाउनु भएको छ ?

नेपाल सरकारले विद्युतीय सवारी साधनहरूलाई एसेम्बल गर्नका लागि प्रोत्साहन नीति लिएको छ । हामी पनि त्यसको लागि इच्छुक छौँ । त्यही अनुसार नै हामीले सीमाराको  विशेष आर्थिक क्षेत्र ( सेज) मा प्लट पनि लिसकेका छौँ । यसका लागि केही समय कुर्नु पर्ने हुन्छ । हामी गृहकार्य गर्दै छौँ । हामीले नेपालमै सवारी साधन बनाउन पाइयो भने ग्राहकहरूलाई अझै सस्तो मूल्यमा सवारी साधन उपलब्ध गराउन सकिन्थ्यो । यसका साथै देशमा रोजगारीको सृजना समेत हुन्थ्यो ।

ह्वाइट लोटस मोटर्स प्रालीका भावी योजनाहरू के के छन् ?  

निकट भविष्यमा नै इलेक्ट्रिक थ्री भिल्लर पनि लञ्च गर्न लागेका छौँ । यसमा लागि ऋणमा केही समस्या भएको हुँदा लञ्चको समय केही पेण्डिङ भइरहेको छ । यसका साथै हामीले इलेक्ट्रिक प्रिमियम ब्रान्ड पनि नेपालमा लञ्च गर्ने तयारीमा रहेका छौँ ।   

 

प्रतिक्रिया दिनुहोस