aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ज्ञानेन्द्र पथमा राष्ट्रपति भण्डारी, देउवालाई अपदस्त गरेर विकल्प खोज्ने कसरत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
ज्ञानेन्द्र पथमा राष्ट्रपति भण्डारी, देउवालाई अपदस्त गरेर विकल्प खोज्ने कसरत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ । संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दिएको छ ।

तर दोस्रोपटक राष्ट्रपतिलाई विधेयक फिर्ता गर्ने वा प्रमाणीकरण नगर्ने छुट संविधानले दिएको छैन । धारा ११३ (४) ले त्यसरी फिर्ता पठाएको विधेयक परिमार्जनसहित वा उस्तै रूपमा संसद्ले पारित गरेर पठाएपछि १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । नागरिकता विधेयकप्रति असन्तुष्ट राष्ट्रपति भण्डारीले संविधानको उक्त व्यवस्थालाई पनि बेवास्ता गर्दै संविधानलाई नै चुनौती दिएकी छन् । 

राष्ट्रपतिको जिम्मेवारीमा पुगेसँगै पूर्वदल एमालेको स्वार्थअनुकूल चलेको आरोप निरन्तर खेप्दै आएकी भण्डारीले संघीय संसद्को दुवै सदनले दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुलाई सोहीअनुसार हेरिएको छ ।

२०६२/६३ को परिवर्तनका साथै संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्ट परिवर्तनविरोधी शक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेकी भण्डारीले नागरिकता विधेयकमा हलो अड्काएर मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न खोजेको विश्लेषण गर्न थालिएको छ । संविधानको व्यवस्थाविपरीत दुईपटक प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्व सरकारको सिफारिसलाई मध्यरातमा हतारहतारमा राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् ।  

दुवै विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनसँगै राष्ट्रपति भण्डारी रुष्ट छिन् । देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएकी छन् । यससँगै सरकार र पाँच दलीय गठबन्धनसँग थप दूरी बढाएर राष्ट्रपति भण्डारी देउवा सरकारको विकल्प खोज्ने/दिने रणनीतिमा रहेको निकट स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस