
काठमाडौं । विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग–व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ ।
अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ असोजदेखि लागू हुने गरी व्याजदरमा भएको वृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कर्जाको व्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमीव्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको पनि जनाएको छ ।
महासंघका अनुसार बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस