पालुङ्गटार । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका छन् ।
पालुङ्टारलाइ सुचनाप्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सघीय सरकार र अर्थमन्त्रालयबाट यसको लागि सम्पूर्ण सहयोग हुने उनले बताए । ‘स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।’ उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
‘नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु’, मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए। नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए ।
सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफुलाई यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए । यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए ।
संघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु संघीयताको उपलब्धि भएको पनि उनले बताए । संंघीय लोकतान्त्रिक व्यवस्थाको अस्तित्व भनेको राजनैतिक पार्टीहरुको अस्तित्व रहेको विचार व्यक्त गर्दै उनले जोड दिए । ‘संघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन’, उनले भने ।
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उहाले बताए । बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।
दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउसो पालुङ्टार आएका थिए । लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।
प्रतिक्रिया दिनुहोस