
काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकीमुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ ।
भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक भित्रिरहेको सीमास्थित सशस्त्र प्रहरी पोस्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोस्टका अनुसार भारतका मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्लीलगायत सहरबाट हालसम्म १ हजार १ सय ५३ जना भित्रिएका छन्। चाडपर्व नजिएकाले भारत जानेभन्दा स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।
लामो समयदेखि भारत मुम्बईमा रोजगार गर्दै आएका डोटी आदर्श गाउँपालिकाका रमेश खड्का चाडपर्व मनाउन फर्केको बताउँछन् । ‘दसैंमा सबै एकसाथ भेटघाट हुन्छ,’ उनी भन्छन्, गाउँघरकै खाना पकाई खाई रमाइलो गरी मनाइन्छ ।’ उनकै गाउँका नरीबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकाले दसैं टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भिœयाउन भारत पञ्चाबबाट आएको सुनाउँछन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत सहर जाने गर्छन् ।
काठमाडौंबाट बाहिरिने बढी
दसैं–तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन्। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झन्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर संख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
सरकारले गत १० असोजबाट २५ ठाउँमा यात्रु सहायता कक्ष व्यवस्था गर्न लागिएको छ । तोकिएभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुव्र्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न प्रहरी र महासंघको नम्बर टाँस्ने उनको योजनामा छ ।
प्रतिक्रिया दिनुहोस