
काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन् ।
प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ । पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा छन् भने दुई जना स्वदेश भ्रमणमा ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा र दसौँ तहमा कार्यरत सहप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट बालकृष्ण अवाल अमेरिका भ्रमणमा छन् । यस्तै दसौँ तहमा कार्यरत सिनियर कन्सलटेन्ट प्याथोलोजिस्ट डा. रेखा मानन्धर बेलायत भ्रमणमा छिन् । कन्सलटेन्ट प्याथोलोजिस्ट डा. सुमिधा तिवारी र मेडिकल ल्याब टेक्नोलोजिस्ट सन्तोष सुवेदी विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सञ्चालित तालिममा सहभागी हुन विराटनगर गएका छन् ।
उनीहरू भ्रमणमा भएकाले फ्लुसाइट्रोमेट्री (रक्त क्यान्सर पत्ता लगाउने) सेवा नै बन्द हुन पुगेको छ । गत बिहीबार (लिक्युमिया) रक्त क्यान्सरको शङ्कामा एक वर्षीय बालकको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले उक्त परीक्षण प्याथोलोजिस्ट नभएकाले निजी प्रयोगशालामा लगेर गर्नू भनेर फर्काइदिए ।
प्रतिक्रिया दिनुहोस