काठमाडौं । जीवन्त सहरको मौलिक छविलाई जोगाउन काठमाडौँ महानगरले क्षेत्रगत सन्तुलन कायम गराउने उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । भौतिक, अभौतिक र सामाजिक पक्षको सन्तुलनबाट सहरको जीवन्तता यथावत रहन्छ । उनले एफएचई ३६० का प्रतिनिधिहरुसँग आपसी सहकार्यका बारेमा कुरा गर्दै यस्तो बताएकी हुन् ।
‘काठमाडौँलाई स्वच्छ हावा र स्वच्छ पानीसँगै हरियाली चाहिएको छ । सडकलाई पैदलयात्रीमैत्री बनाउनु पर्नेछ । वातावरण र जनस्वास्थ्य सुधारका लागि हामीले यस्ता क्षेत्रहरुमा ध्यान दिएका छौँ ’, उनले बताइन् ।
छलफलमा वातावरणीय सुधारका लागि विद्यार्थीलक्षित कार्यक्रमको प्रसङ्गमा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले, सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर काम थाल्नुपर्ने बताइन् । परिणामका लागि संस्थागत विद्यालय र सामुदायिक विद्यालयविच संयुक्त कार्यक्रम चलाऔँ । सल्लाहकार अर्यालको भनाइ थियो ।
कार्यक्रममा एफएचआईका राष्ट्रिय निर्देशक भगवान श्रेष्ठले, जनस्वास्थ्य र वातावरणका क्षेत्रमा महानगरका प्राथमिक मुद्दामा सहकार्य गर्न चाहेको बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत वेवोरा क्यानेडीले, वायु प्रदुषणजस्तो प्रत्यक्ष नदेखिने तर लामो समयसम्म असर देखाउने क्षेत्रको सुधारमा आफूहरु सहभागी हुन चाहेको उल्लेख गरे ।
वातावरण प्रदुषण नियन्त्रण र जनस्वास्थ्य क्षेत्रमा सुधारका सन्दर्भमा वायु प्रदुषण नियन्त्रण, भित्री सहरी क्षेत्रको प्राचीनता संरक्षण गर्न सवारीका साधनको प्रयोग घटाउँदै हिड्ने वातावरण बढाउने र विद्यालय स्तरमा वातावरण शिक्षालाई प्रवर्धनका क्षेत्रमा सहकार्य कुराकानीका मुख्य विषय थिए । एफएचआईका स्वच्छ हावा परियोजना प्रमुख भुषण तुलाधरले जानकारी दिए ।
हिउँद आएसँगै वायु प्रदुषण बढ्न थाल्छ । यसलाई कसरी रोक्ने? यसका लागि अहिलेदेखि नै काम गर्नुपर्छ । फोहोरलाई खुृल्ला रुपमा बाल्ने आचरणमाथि निगरानी गर्नुपर्छ । सहरको ध्वनी प्रदुषणका बारेमा धेरै कुरा हुन सकेकै छैन । यसमा वहस चलाउनुपर्छ । छलफलमा विषय उठेको थियो ।
बैठकमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईले आफ्नो विभागमार्फत अगाडि बठाउनु पर्ने कामका लागि आफूहरु जिम्मेवार रहेको धारणा राखेकी थिइन् ।
भेटका क्रममा महानगरको सम्पदा तथा पर्यटन, वातावरण तथा कृषि र शिक्षा गरी ३ वटा विभागका प्रमुख र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सहभागी थिए । त्यस्तै वातावरण तथा जनस्वास्थ्य संस्थालगायतका साझेदारका प्रतिनिधिहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस