एजेन्सी । दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जिते । तर, उनले चिट्ठा जितेपनि खुसी हुन भने पाएनन् । चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्।
बीबीसीका अनुसार अनुपले चिट्ठा जितेको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। उनले भनेका छन्, ‘मैले नजितेको भए हुन्थ्यो । बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।’
अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।
उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो। छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो।
प्रतिक्रिया दिनुहोस