
काठमाडौं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् ।
केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव पनि विदेश भ्रमणमा मस्त छन् । अन्य केही मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् । नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा सरकारका मन्त्री र सचिव दसैंको मुखमा विदेश भ्रमणमा मस्त छन् ।
वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार अमेरिका उडेका छन् । उनी केही दिनअघि मात्रै विदेशबाट फर्केका थिए । त्यसको दुई साता नपुग्दै वनमन्त्री यादव फेरि अमेरिका उडेका हुन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार क्यानडा उडेका छन् । यस्तै, भूमिसुधार मन्त्री शशि श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा सयरमा छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप प्रस्थान गरेका छन् ।
उनीसँगै मन्त्रालयका सचिव अर्जुन पाखरेल तथा कर्णाली प्रदेश प्रमुख सचिव डा। गोपीकृष्ण खनाललगायतको जम्बो टोली विदेश उडेको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मा विदेश भ्रमण सकेर केही दिनअघि मात्रै फर्केका छन् यस्तै, स्वास्थ्य सचिव पनि विदेश भ्रमणबाट फर्केका छन् । यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी पनि विदेश भ्रमण गरेर केही दिनअघि मात्रै फर्केका छन् ।
सरकारले २०७५ सालमा विदेश भ्रमणसम्बन्धी निर्देशिका जारी गर्दै विदेश भ्रमणमा कडाइ गरेको थियो तर अहिले सो निर्देशिका निष्क्रिय पारिएको छ ।
गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक विभिन्न मन्त्री र सचिवका लागि ११ वटा भ्रमण दलको विदेश भ्रमणमा स्वीकृति दिएपछि विकृति सुरु भएको हो । त्यसअघि १० दिनको अवधिमा पाँचवटा विदेश भ्रमणलाई स्वीकृति प्रदान गरिएको थियो ।
राज्यकोषमा करोडांैको व्ययभार पार्दै सरकारका मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार लगातार भइरहेको विदेश भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव अन्य सरकारी पदाधिकारी र कर्मचारी सहभागी हुने गरेका छन् । तर तल्ला तहका कर्मचारीले विदेश भ्रमणको खासै अवसर पाउँदैनन् । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक अर्बभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।
योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीसँगै भुटान भ्रमणका लागि, स्वास्थ्य सचिव डा। रोशन पोखरेल र विशेषज्ञ डा। संगीता कौशल मिश्रा पनि विदेश भ्रमण सकेर फर्किएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार १० देखि १४ सम्म फिलिपिन्सको मनिलामा हुने एसियाली विकास बैंकको ५५औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री जनार्दन शर्मा र उनको टोलीको विदेश भ्रमण पनि स्वीकृत भएको छ ।
प्रतिक्रिया दिनुहोस