aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भूमिहीन ९६१ जनालाई लालपुर्जा वितरण

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ११ असोज २०७९
भूमिहीन ९६१ जनालाई लालपुर्जा वितरण

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ । पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी पुर्जा वितरणलाई महत्त्वसाथ अगाडि बढाएको थियो ।

आयोगले सबैभन्दा बढी लालपुर्जा चितवन जिल्लामा वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा भूमिहीन दलित र सुकुम्बासी गरी १६७ जनालाई पुर्जा वितरण गरिएको छ । सुर्खेतको भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा आयोगले पुरानो काम अगाडि बढाएको थियो । 

भेरीगङ्गा र गुर्भाकोटमा १४७ जनालाई पुर्जा वितरण गरिएको छ । यसैगरी सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा १३०, कैलालीको धनगढी र लम्किचुहा नगरपालिकामा गरी १४६ र सिन्धुलीको दुधौली नगरपालिकामा १०६ जनालाई पुर्जा वितरण गरिएको छ । 

काम प्रभावित  

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण गरी जग्गा उपलब्ध गराउनेलगायतका जिम्मेवारी भएको आयोगको काम निर्वाचनले प्रभावित भएको छ ।

विभिन्न जिल्लामा भूमिहीनलाई लालपुर्जा वितरण गरिरहेको आयोग निर्वाचनका कारण कामविहीन भएको हो । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणको निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य तत्काल स्थगन गर्न भदौ अन्तिममा निर्देशन दिएपछि आयोगको काम प्रभावित भएको हो । 

लगत सङ्कलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचना भूमि आयोगले सबै काम स्थगित गरेको छ । 

भूमि आयोगले कामका लागि नियुक्त गरेका ६०० जना अमिन र सर्वेक्षकबाट समेत काम नहुने भएको छ । यसैगरी सबै जिल्लामा आयोगले बनाएको जिल्ला समितिको काम पनि हुन सक्ने अवस्था छैन । 

प्रतिक्रिया दिनुहोस