काठमाडौं । दशैंमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दशैंमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विना फ्रिजमा राख्दा बिग्रने डर हुन्छ ।
फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौंहरू राम्ररी सफा गरेर मात्रभित्री भाग खोल्न सुरु गर्नुपर्छ । आन्द्रा भुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ ।
मासुलाई सर्लक्क साँप्रा र अन्य भाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खा बनाएर फ्रिजमा राख्नुपर्छ । फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने ।
फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर काट्ने र मज्जाले तेलमा भुटेर नुनहालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकता अनुसार अलिअलि पुनः पकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा/मासु मिसाएर एउटै अचानोमा काट्दा एक–अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ ।
पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियम अनुसार सुरक्षित मानिँदैन र सफा गर्न पनि सहज हुन्न ।
खुकुरी पनि साबुन पानीले धोएर सुक्खा पारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ । काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने १८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस