काठमाडौं । हिन्दू नेपालीको महान् चाड दशैंलाई धुमधामका साथ मनाउने गरिन्छ । दशैंभन्ने बित्तिकै खानपान जोडिन्छ । तर, दशैंको रमझममा रमाउँदै गर्दा स्वास्थ्यप्रति पनि सजगता अपनाउन चिकित्सकले बारम्बार सल्लाह पनि दिँदै आएका छन् । दशैंमा मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने परम्परा नै हो । रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासु बिना टार्न हत्तपत्त नेपालीको मनले मान्दैन ।
तर, रोगपालेर बसेकाहरुको लागि थोरै सावधानी नअपनाए दशैं दशाबन्न सक्छ । मुटु रोगीको लागि मात्र हैन सामान्य ग्यास्ट्राइटिसका लागि धेरै मासु खाँदा केही कुरामा भने ध्यान पु¥याउनु जरुरी हुन्छ । सामान्य कुरालाई वेवास्ता गरे दशैंमा अस्पतालमा बास हुन सक्छ ।
मानव शरिरमा धेरै हुने समस्यामध्ये ग्याष्ट्रिक पनि एक हो । खानपानको असन्तुलन र हेलचेक्राई गरेमा यो रोग लाग्दछ । चिकित्सकीय भाषामा
‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युओर’ भनिन्छ । त्यसैले रोग लाग्नुभन्दा पहिले सावधानी अपनाए रोग लाग्नै रोक्नु उत्तम हो । ७५ प्रतिशतभन्दा बढी मानिसलाई खान पिनको कारण ग्याष्ट्रिक भएको देखिन्छ । अहिले ग्यास्ट्राइटिस नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ । यो एकदम गलत हो । खान पिनमा सन्तुलन ग¥यो भने ग्यास्ट्राइटिसले छुँदैन । वास्तवमा ग्यास्ट्राइटिस रोग नै होइन । तर, यसले दशैंमा धेरैलाई पिरोल्छ ।
शारीरिक व्यायम गर्ने, चिल्लो पिरो नखाने र योग गर्ने हो भने ग्यास्ट्राइटिस आफै हराएर जान्छ । तर, ग्यास्ट्राइटिस हुँदा हेलचेक्राइ गर्ने थाल्यो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ । दशैंको बेला चिल्लो पिरो नखाने भन्ने असम्भव जस्तै हुन्छ । तर, अरु खानासँग सन्तुलन मिलाएर खाएमा धेरै असर हुन्न । खाली पेटमा र एकैपटक धेरै खानु हुन्न । त्यस्तै पकाउँदा पिरो र चिल्लो कम गर्नु पर्छ । ग्यास्ट्राइटिसबाट अल्सर र क्यान्सर हुने हुँदा खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ ।
के खाने ?
फाइवरयुक्त, भिटामिन युक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सिडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ । प्रचुर मात्रामा प्रोटिन युक्त खाना जस्तै माछा, मासु, गेडागुडीले पनि एचपाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने पत्ता लागेको छ । तर, यसको मात्रा मिलाउनु पर्छ । मासुले ग्यास्ट्राइटिस ठिक हुन्छ भनेर मासु मात्र खानु हुन्न । दहीमा हुने ’प्रोबायोटिक बटर मिल्क’ले पनि ग्याष्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ ।
अमिलो जातका फलफुल, गेडागुडी, पिडालु, प्याज,काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अंगुरमा पाइने पोलीफिनोल्सले पेटको संक्रमण गर्ने एचपाइलोरी व्याक्टेरिया फैलिनबाट जोगाउँछ ।
के नखाने ?
कोल्ड ड्रिङ्क्स, चिया, कफी, बढी चिल्लो बोसो भएको खाना, मैदाबाट बनेको खाने कुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी, धुमैपान, मध्यपान, पोलेका मासुहरु नखाने गर्नुपर्छ ।
यसबाहेक अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधिहरु सेवन नगर्ने, सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने, खाना एकैपटक धेरै खानु भन्दा थोरै/थोरै पटक/पटक गरेर खाने गर्न पर्छ । नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमान्दार भएर पालन गर्ने गर्नु पर्छ ।
समयमा नै एचपाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ । आफन्त, छिमेकी र साथीभाईको कुरा सुनेर प्रमाणित नभएका विभिन्न औषधिहरु र जडिबुटीको सेवन नगर्ने, विशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाह अनुसार औषधी सेवन गर्ने र अनुशासित जोन शैली अपनाउने गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस