काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ (एनएचजीएस) आयोजना हुने भएको हो ।
आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २४ र २५ गते हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिईएको हो । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन् ।
ताहाचलस्थित होटल सोल्टी काठमाडौंमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।
नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यसअर्थमा यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने उद्देश्य लिइएको छ । त्यस्तै, नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जाी र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने सम्मेलनको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस