aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ओलीविरुद्ध चुनाव भिड्न लागेका काफ्ले भन्छन्, ‘तलब, भत्ता तथा सेवा सुविधा लिन्न’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
ओलीविरुद्ध चुनाव भिड्न लागेका काफ्ले भन्छन्, ‘तलब, भत्ता तथा सेवा सुविधा लिन्न’

काठमाडौं । आगामी मङ्सिर महिनामा हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका तुलसी काफ्लेले आफूले निर्वाचन जितेमा तलब भत्ता नलिने बताएका छन् । झापाको क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने तयारीमा रहेका काफ्ले यस्तो घोषणा गरेका हुन् ।  

आफू निर्वाचित भएमा तलब, भत्ता तथा सेवा नलिने घोषणा गर्दै उनले भने, ‘जनताको गाँस काटेर जम्मा गरिएको कर रकमबाट जनप्रतिनिधिको हैसियतले राज्यकोषबाट तलब,भत्ता लगायतका कुनै पनि सेवा नलिने कबुल गरेका छौँ । त्यस्तो सुविधा अरू जनप्रतिनिधिले पनि लिन नहुने कुरामा खबरदारी गरिने छ ।’

प्रदेश सभाको खारेजी प्रतिनिधि सभामा बढीमा ११५ जना सदस्य रहनुपर्ने उनको तर्क रहेको छ । उनले पाँच वर्षमा औचित्य सावित गर्न नसकेको प्रदेश सभा राज्यका लागि अनावश्यक आर्थिक बोझ भएकोले खारेज गर्नु पर्ने उनको भनाई छ । यसका साथै सङ्घीय संसद्मा बढीमा ११५ जना सदस्य हुने व्यवस्था समेतको छिनोफानो जनमत सङ्ग्रहबाट गर्नुपर्ने उनको तर्क । 

यस्तो छ स्वतन्त्र उम्मेदवार काफ्लेको आठ बुँदे अपिल 

(१) तलब,भत्ता तथा सेवा नलिने: जनताको गाँस काटेर जम्मा गरिएको कर रकमबाट जनप्रतिनिधिको हैसियतले राज्यकोबाट तलब,भत्ता लगायतका कुनै पनि सेवा नलिने कबुल गरेका छौँ । त्यस्तो सुविधा अरू जनप्रतिनिधिले पनि लिन नहुने कुरामा खबरदारी गरिने छ । 

(२) प्रदेश सभाको खारेजी प्रतिनिधि सभामा बढीमा ११५ जना सदस्य: पाँच वर्षमा औचित्य साबित गर्न नसकेको प्रदेश सभा राज्यका लागि अनावश्यक आर्थिक बोझ भएकोले खारेज गरिनु पर्छ र सङ्घीय संसद्मा बढीमा ११५ जना सदस्य हुने व्यवस्था समेतको छिनोफानो जनमत सङ्ग्रहबाट गर्नुपर्छ ।

(३) चुनाव घोषणापत्रको जबाफदेहिता: राजनीतिक पार्टीको चुनाव घोषणापत्रमा लेखिएका कुरा र तिनका नेताले आम जनसमुदायमा गरेका कबुले पुरा नगरे कानुनी रूपमा दण्डनीय र राजनीतिक रूपमा अयोग्य हुने कानुनी व्यवस्था गरिनुपर्छ । जसले नेताहरूको ढाँटछल वा झुक्यानमा पारी चुनाव जित्ने अनि पाँच वर्ष हाबीमुहाली गर्ने कुसंस्कारमा न्यूनीकरण हुने छ

(४) राजनीतिमा एउटै अनुहार पटक पटक किन ?: ‘बा र देऊ बाʼ जस्ता व्यक्ति किन पटक पटक उम्मेदवार हुने ? जितेर उहाँहरूले के गर्न बाँकी छ ? जितेर प्रधानमन्त्री हुने बाहेक उहाँहरूको अर्को कुनै एजेन्डा नै छैन । राजनीतिमा यसरी पटक पटक आउनु भनेको ‘तर मार्नु’ अर्थात् भ्रष्ट्राचार गर्नु र आफ्नो हैकम अझ मजबुत पार्नु हो । यो गलत थिति हो । यस्तो थितिको हामी अन्त्य गर्न चाहन्छौँ । कुनै पनि नेताले इतिहास देखाएर दोहोरिने अनि त्यसको व्याज खाने दाउ लगाउनु हुँदैन ।  

(५) दैनिक प्रशासनिक संयन्त्र: दैनिक प्रशासनिक संयन्त्रमा सुधार हुनुको साटो झनझन गएगुज्रेको र घिनलाग्दो अवस्थामा छ । प्रत्यक्ष जनसरोकार हुने यातायात कार्यालय,नागरिकता र पासपोर्ट बनाउने कार्यालय,वैदेशिक रोजगार,भन्सार लगायतका निकाय घुसमा चुर्लुम्म डुबेका छन् । ०४६ साल यता राष्ट्रिय राजनीतिमा हालीमुहाली गरेका राजनेता भनाउँदाहरूले यी अड्डाहरूको सुधार किन नगरेका हुन ? के जनताले नेताको हात बाँधिदिएका थिए ? यस्ता अड्डाबाट नेताले हप्ता असुली गर्ने हुनाले देखेको नदेखेझैँ गरेका छन् । स्वतन्त्र उमेद्वारको हैसियतले हामी त्यसको खबरदारी गर्ने छौँ । 

(६) लोकतान्त्रिक राजनीतिको शब्दकोषमा आत्मालोचना भन्ने शब्दावली नै हुँदैन: हामी कहाँ नेताले उपाय नलागे पछि मबाट गम्भीर भूल भयो पनि भन्छन् । त्यस पछि त्यही कुर्सीमा टाँसिएर बस्छन् । कसैले कसैका उपर प्रश्न उठायो भने सोही बखत राजनीतिबाट आफूलाई अलग गर्नुपर्छ । नेताले गल्ती गर्‍यो, त्यस पछि आत्मआलोचना गरेँ भन्यो आजीवन कुर्सीमा बस्यो,आफूलाई चोखो तुल्यायो । यस्तो परिपाटीले राजनीतिलाई विकृत बनाएको छ । यसको अन्त्य हुनुपर्छ । 

(७) स्वतन्त्र सांसदको भूमिका: हाम्रा निजी महत्वकांक्षा भन्ने केही छैनन् । हाम्रो उमेदवारी जनताको आवाजको प्रतिनिधित्व हो । राजनीति हाम्रो रहर नभएर गन्हाएको वर्तमान राजनीतिलाई सही दिशामा ल्याउनु पर्छ भन्ने हाम्रो बाध्यता मात्र हो ।  अन्ततः राजनीतिक पार्टीले नै देश चलाउने हो । चुनाव जितेर गए पछि आफ्नो निर्वाचन क्षेत्रमा र संसद् भवनमा नदेखिने सांसदको व्यवहारले जनताका प्रति बेइमानी गरेको हाम्रो ठहर छ । राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्नेले जसो गरे पनि हुने गलत बुझाई राखेर देश र जनता उपर जालझेल, बेइमानी र धोखाधडी गरेकाले तिनलाई ठेगान लगाउन विद्रोही आवाजको प्रतिनिधित्व गरेका स्वतन्त्र सांसदले सांसद बाहेक अन्य मन्त्री लगायतका कुनै पनि भूमिकामा जानु हुँदैन । 

(८) नेताले आफ्नो विकल्प देखेनन्: दसौं लाख कार्यकर्ता भएको पार्टीका नेता आफू बाँचुन्जेल आफैँ सत्तामा रमाउने आफ्नो विकल्प नै नदेख्ने परिपाटीको विकास भएको छ । यस्ता कुकर्मले पार्टीको नीति कार्यक्रम र सिद्धान्तको धज्जी उडाएको छ । नेतामा मबादी प्रवृत्तिको विकास हुँदा तिनलाई शक्तिको उन्माद चढेको छ । नेता जनताको नोकर हो । उ नोकरकै हैसियतमा बस्नु पर्छ । यस विपरीत उनीहरू राजकीय ठाँटवाँठ देखाएर आनन्द मान्छन् ।

देशको समग्र विकासका लागि यी न्यूनतम सवाल हुन । यस्ता कुरामा सुधार नभएसम्म सुख समृद्धि आशै गर्न सकिँदैन ।   

 

 

प्रतिक्रिया दिनुहोस