
काठमाडौं । सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्र मिलेर धेरै सिट लिँदा जसपा र नेकपा एसलाई घाटा लाग्ने अवस्था आएको हो । आन्तरिक विवादका कारण सबैभन्दा बढी सिट लिन कांग्रेसलाई सहयोग मिलिरहेका बेला माओवादीले करिब ५० सिटको हाराहारीमा लिएको छ ।
‘कांग्रेस ८५-८७ सिट, माओवादीले ४७-५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ । बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो लगाएको छैन,’ गठबन्धन निकट स्रोतले भन्यो । सरकारी निवासमा ५५ दिन बैठक बस्दा पनि सत्तारूढ पाँच दलले अझै निकास निकाल्न सकेका छैनन् ।
मंगलबार र बुधबार दिनभर गठबन्धन दलका नेताहरू सिट बाँडफाँटका लागि बस्दा पनि मिलाउन सकेका थिएनन् । खासगरी आफू कमजोर रहेका तर यसअघि जितेका स्थानमा माओवादी केन्द्रले नछाडेका कारण सिट बाँडफाँटमा कुरा नमिलेको स्रोतको दाबी छ ।
प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले २०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र २०७४ सालको समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको भए पनि कांग्रेसको आन्तरिक झगडाका कारण गठबन्धनभित्र अन्योल देखिएको छ ।
प्रतिक्रिया दिनुहोस