
काठमाडौं । केही वर्ष पहिलासम्म धादिङ थाक्रेको जनजागृति उच्च माध्यमिक विद्यालय धादिङमा धेरै कुरा थिएन । विद्यालयमा व्यवहारिक तथा गुणस्तरीय शिक्षाको प्रवन्धसँगै यो स्कुलमा पढ्ने विद्यार्थीको ओइरो लागेको छ ।
आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन् । ती मध्येमा छात्र ६९० र छात्रा ६७६ जना विद्यार्थी अध्ययनरत छन् ।
गत आर्थिक वर्षमा यो स्कुलमा विद्याथीर्को संख्या १२ सय ५० जना थिए भने त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ हजार जना थिए । स्कुलको क्षमता भन्दा बढी संख्यामा विद्यार्थीको भर्ना माग भएपछि ३ सय जना फिर्ता पठाउनु परेको विद्यालयका प्राध्यनाध्यापक लवणप्रसाद फुयाँलले बताए ।
‘स्कुलको क्षमता भन्दा बढी भएपछि भर्ना गर्न सकेनौं, टाढाबाट यही विद्यालय आउने धेरै भए’ उनले भने । विद्यालमया पाँच वर्षदेखि शिक्षा तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रम लागू गरेसँगै यो विद्यालयमा विद्यार्थीको आकर्षण बढेको अनुभव गरेको प्रधानाध्यापक फुयाँल बताउँछन् ।
२०७३ सालदेखि सरकारले विद्यालय क्षेत्र शिक्षा विकास कार्यक्रम लागू गरेदेखि यता स्कुलमा खानेपानी, पुस्तकालय विस्तार, विज्ञान प्रयोगशाला, इञ्जिनियरिङ प्रयोगशाला विस्तार, इञ्जिनियरिङ विषयको पढाइ, भुकम्पले क्षति पुगेको भवनको रेक्टोफिटिङ, छात्राहरुको लागि सेनेटरी प्याड कार्यक्रम, विद्यालय राहत शिक्षक दरबन्दी, विद्यालय खाजा कार्यक्रम, दृष्टि विहीन विद्यार्थीको लागि छात्रावाससहितको निःशुल्क शिक्षाको व्यवस्था, लगायत कार्यक्रममा गुणस्तरीय विस्तारसँगै विद्यार्थीहरुको आकर्षण बढेको स्कुलले जनाएको छ ।
स्कुलका प्रधानाध्यापक लवणप्रसाद फुयाँलका अनुसार विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म सिभिल इञ्जियिरिङ, कक्षा १२ मा व्यवस्थापन, विज्ञान, विषयमा अध्ययापन हुने गरेको छ । यी विषयको अतिरिक्त विद्यालयमा अध्यापन हुने म्युजिक कक्षा, कम्प्युटर कक्षा, बाल क्लब लगायत अतिरिक्त क्रियाहलापले यो स्कुलमा विद्यार्थीको थप आकर्षण बढेको सह– प्राध्यपक रामचन्द्र रुपाखेतीले बताए ।
प्रतिक्रिया दिनुहोस