aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सावधान ! काठमाडौं महानगरपालिकामा बेचिन्छ यस्तो अस्वस्थ मासु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
सावधान ! काठमाडौं महानगरपालिकामा बेचिन्छ यस्तो अस्वस्थ मासु

काठमाडौं । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ । जफत गरिएका सामानमध्ये साल्ट टे«डिङ् कर्पोरेसनको जडीबुटी बिक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको हो ।

यसैगरी, उत्पादन अनुज्ञा पत्र नभएकाले यी सामान बिक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताए ।   

डा. झाका अनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ । 

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ्, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिएका छन् ।  

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ । बिहीबार नै संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सोधिएको प्रश्नको जवाफ सुन्न लायक थियो । 

अनुगमनका प्रतिनिधिको प्रश्न थियो, ‘‘मासु काट्दा एप्रोन लगाउनु पर्ने किन नलगाउनु भएको ?’’ व्यवसायीको उत्तर आयो, ‘‘बिहान कामको चाप हुन्छ । त्यसैले लगाउनै भ्याइँदैन ।’’ अनुमगनकर्ताले अर्को प्रश्न सोधे, ‘‘ढक तराजु नवीकरण गराउनु भएकै रहेनछ । यो त गैरकानुनी भयो नि’’, व्यवसायीले उत्तर दिए, ‘‘यो गराउन कहाँ जानु पर्छ हामीलाई थाहा त छैन । बरु, वडालाई यतै पठाइदिनु न ।’’

माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान बिक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ । 

प्रतिक्रिया दिनुहोस