aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ’

काठमाडौं । नेपालले हालकोभन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलालले नेपालमा निर्यात बढी गर्ने अझै सम्भावना रहेको बताए । ‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,’ उनले भने ।

यसलाई गत आर्थिक वर्षको निर्यातसंग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ ।

नेपालको निर्यात सम्भाव्यता एक्सप्लोरिङ्ग नेपाल एक्सपोर्ट विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको पनि सम्भावना रहेको बताए ।

एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो । जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो ।

सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो । तत्पश्चात कृषि, र अन्य रसायनमा आधारित वस्तुहरु थिए । त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुहरु विविधिकरण हुन सकेनन । ‘धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो,’ अर्थशास्त्री गोन्जालोले भने ।

नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिँदैन । नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाइँदैन । न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून वाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको कुरा उनले आफ्नो प्रस्तुुतीमा बताए ।

न्यून वाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनाहरूलाई समेत थप सीमित बनाई दियो,ु उनले भने, ‘किनभने लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पदकत्व दुवै बढ्यो । नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन ।’

नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तराष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसंग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनले सुझाव दिए  ।

यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्धनमा काम गर्नुपर्नेमा जोड दिए । ‘हामीले हाम्रो अर्थतन्त्रको आधार मजवुत बनाउन सकेनौं भने जतिवेला पनि इन्जिन फेल हुन सक्ने खतरा छ,’ उनले भने, ‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरु निर्यात गर्ने क्षमता राख्नुु पर्छ, यसमा सरकारले निजी क्षेत्रले दिएका सुझावहरुको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस