काठमाडौँ । बैधानिक माध्यमबाहिर हुने आर्थिक कारोबार रोक्न पछिल्लो समयमा प्रहरीले सिमावर्ती व्यापारिक नाका वीरगन्जमा सक्रियता बढाए पनि हुन्डी कारोबार नरोकिएको पाइएको छ।
असार ९ गते फेला पारेको त्यस्तै एउटा हुण्डी कारोबारको घटनामा जिल्ला प्रहरी कार्यालय पर्साले एक अर्ब २८ करोड ४३ लाख ३९ हजार सात सय २३ रूपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला अदालत पर्साबाट म्याद लिई गरेको अनुसन्धानपछि आठजना आरोपीविरुद्ध उक्त रकम बराबरको बिगो दाबीसहित पर्सा प्रहरीले अदालतमा मुद्दा दायर गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
हुन्डीको कारोबार गर्ने गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर नगरपालिका-७ का विनोद सुनार, पर्साको छिपहरमाई गाउँपालिका-२ का राजकपुर साह, विन्दवासिनी गाउँपालिका-२ का सुजितकुमार साह, बाराको परवानीपुर गाउँपालिका-१, बुनियादका घनश्याम सर्राफ, वीरगन्ज महानगरपालिका-१० का चन्दनकुमार सर्राफ, वडा नम्बर-६ का राकेशकुमार सिंह, भारत विहारको मोतिहारी जिल्ला, पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद र पूर्वी चम्पारण जिल्ला नैनपुरका गुलाब साहलाई प्रहरीले उक्त मुद्दामा पक्राउ गरेको थियो। उनीहरूउपर सो बराबर बिगो दाबी गर्दै प्रहरीले मुद्दा दायर गरेको हो।
हुन्डी करोबार व्यापक मात्रामा हुने गरेको बताइन्छ। हुन्डी कारोबारको आरोपमा पक्राउ पर्ने र मुद्दा चल्ने क्रम दोहरिए पनि
कारोबार नरोकिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस