काठमाडौं । आगामी मंसिर ४ गते हुन लागि रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुले आज निर्वाचन आयोगमा मनोनयन गर्ने कार्यतालिका रहेको छ । आज बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म कार्यालय समयभित्र मनोनयन दर्ता गर्न आयोगले समय दिएको छ ।
आयोगले उम्मेवारी दर्ता गर्नका लागि विभिन्न प्रक्रियागत कागजातहरु माग्नुका साथै उम्मेदवारहरुको आर्थिक र सामाजिक अवस्थाको जानकारी समेत माग गर्ने मापदण्ड तोकेको छ । उम्मेदवारहरु अयोग्य हुने प्रकरणहरु समेत आयोगले तोकेको मापदण्डभित्र परेका छन् ।
उम्मेदवार हुन पाउने योग्यता
क. नेपालको नागरिक
ख. प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगर पालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको
ग. पच्चीस वर्ष उमेर पूरा भएको
घ. कुनै सङ्घीय कानूनले अयोग्य नभएको
ङ. कुनै लाभको पदमा बहाल नरहेको
कस्ता व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ दफा १३ उम्मेदवार को अयोग्यताः
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने निर्वाचन आयोगले जनाएको छ।
क. दफा १२ बमोजिमको योग्यता नभएको
ख. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको
ग. निर्वाचनसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको
घ. भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्तिशुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको
ङ. सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको
च. जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको
छ. खण्ड घ र ङ मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको
ज. प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर
झ. कैदमा बसेकोमा कैद बसेको अवधिभर
ञ. मानसिक सन्तुलन ठीक नभएको
प्रतिक्रिया दिनुहोस