काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ ।
श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रूपमा लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो ।
उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन् । आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो ।
काठमाडौँ २ की निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार उजुरी उपर भोलिसम्म छानबिन गरेर निर्णय लिइनेछ । ‘उहाँले यसअघि नै बेरुजु फछ्र्यौट गरेको निस्सा ल्याउनुभयो भने उजुरी खारेज हुन्छ, अन्यथा उम्मेदवारीबारे कानुन बमोजिम निर्णय गर्छौ।’
निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवार हुनु अघि कुनै पनि व्यक्तिले बेरुजु भए त्यसको फछ्र्यौट गर्नु पर्ने उल्लेख गरेको छ । फछ्र्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको बिषयलाई पनि उजुरीकर्ताले स्मरण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस