aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण, यस्तो छ नयाँ मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण, यस्तो छ नयाँ मूल्य

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको जनाएको छ । काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको हो । 

दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेत तयार पारेको थियो । उक्त प्रतिवेदनका आधारमा अधिकतम खुद्रा मूल्य निर्धारण भएको हो ।  

विभागका अनुसार अब काठमाडौं उपत्यका भित्र एक लिटरको बोटलको पानी अधिकत्तम खुद्रा मूल्य १६ रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर एक लिटरको बोटलको पानी अधिकत्तम खुद्रा मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ भने २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ६० रुपैयाँ तोकिएको छ ।  

उल्लेखित मूल्य भन्दा बढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार विक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने समेत विभागले जनाएको छ । साथै त्यस्तो मूल्य भन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र कहिँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा  सूचना दिन समेत विभागले भनेको छ । 
 

प्रतिक्रिया दिनुहोस