काठमाडौं । मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ । काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदल यात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदल यात्रीको जीवन जोखिममा पर्दै आएको हो ।
प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले सडकपेटीमा राखिएका क्याबिनेट हटाउन नयाँ इन्जिनियरिङ रि–डिजाइन गरिसकिएको बताए। उनले भने, “नयाँ डिजाइनअनुसार अहिले राखिएका क्याबिनेटलाई हटाएर नयाँ पातलो तथा विद्युत् सर्ट हुन नसक्ने खालको बक्स राखिनेछ ।”
सडकपेटीमा नयाँ डिजाइनअनुसारको क्याबिनेट राखेपछि फुटपाथमा हिँडडुल गर्ने सर्वसाधारणलाई कुनै अप्ठ्यारो वा खतरा नहुने उनको दाबी छ । प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा एयरपोर्ट, टोखा, गोंगबु, चाबहिल, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, जोरपाटी, बालुवाटार, बूढानीलकण्ठ, महाराजगञ्ज, रत्नपार्क, नयाँ सडक र अनामनगर क्षेत्रको सडकपेटीमा क्याबिनेट राखेको छ ।
प्रतिक्रिया दिनुहोस