काठमाडौं । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ । प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो ।
मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो । राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो । राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्रचार गरेर सुपारी छाडिएको जानकारी दिइयो ।
सुपारी छाड्नका निम्ति एकपटक राजस्व अनुसन्धान कार्यालय इटहरीमा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले सोधेका थिए । त्यसपछि विभागकै आदेश चाहिने बताएपछि राजस्व विभागका महानिर्देशकलाई दवाव दिएर थेग्न नसकेपछि छाडिएको स्रोतले जनाएको छ ।
कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तब्यमा लैजान अनुमति दिनु भन्ने व्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय नेताले फोन गरेर दवाव दिएका थिए। तर, सम्भव नभएपछि प्रधानमन्त्री कार्यालयकै दवावमा महानिर्देशकको पत्रका आधारमा छाडिएको जनाइयो ।
इटहरीका प्रमुख खनालले भने आफूलाईं प्रधानमन्त्री कार्यालयको दवावमा नभईकन विभागकै आदेश पत्र अनुसार छाडिएको जिकिर गरे। उनले बरु आफूलाई पूर्वका केही नेताले सुपारीका विषयमा चाँसो लिएर सोधीखोजी गरेको बताए ।
मोरङ प्रहरीले विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भई भारतीय मार्गतर्फ जाँदै गरेको अवस्थामा ८ वटा ट्रकमा लोड गरिएको २ लाख १९ हजार ५९६ किलो सुपारी पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाएको थियो ।
सुपारी नियन्त्रणमा गरेर राजस्व कार्यालयमा बुझाएपछि निर्यातकर्ता मनकामना ट्रेडर्स झापाका नवीन घिमिरेले जिल्ला प्रहरी समेतलाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा साउन २६ मा सुपारी छाडि दिने माग गर्दै रिट दायर गरेर अदालतले मुद्दालाई अग्राधिकारमा राखेर छिटै किनारा लगाउने तयारी गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस