aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘अटोमोवाईल्स व्यवसायलाई सरकारले बेवास्ता गर्दा गाडीका शोरुम बन्द हुनपुगे’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९

नेपालको अर्थतन्त्र र राजस्वमा ठूलो योगदान अटोमोवाईल्स क्षेत्रको रहेको छ । तर, यस क्षेत्र लामो समयदेखि ठप्प रहेको छ । अटोमोवाईल्स क्षेत्रको व्यापार व्यवसाय ठप्प हुँदा सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले गत वैशाखदेखि सवारीसाधनको आयातमा प्रतिबन्ध लगाउँदा यो क्षेत्र ठप्प बनेको हो । विलासीका वस्तु भन्दै सरकारले सवारी साधनको आयातमा रोक लगाउँदा यस क्षेत्रसँग सम्बन्धी व्यवसायीहरू आफ्नो शोरुम तथा पसलमा ताला लगाउनु पर्ने अवस्थामा पुगेको अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुवकुमार थापा बताउँछन् । सरकारले लगाएको आयात प्रतिबन्धका कारण अटोमोवाईल्स व्यवसायीहरूमा परेको समस्या लगायतका विषयमा आर्थिकन्युज डटकमले नाडाका अध्यक्ष थापासँग कुराकारी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:  

कोरोना महामारीबाट थलिएको अटोमोवाईल्स क्षेत्रलाई रुस र युक्रेनको युद्धका कारण ठूलो असर पार्‍यो, यस्तो अवस्थामा कसरी काम गरिरहनु भएको छ ? 

कोरोना महामारीका कारण समस्यामा परेका हामी अटोमोवाईल्स व्यवसायीलाई पछिल्लो समय रुस र युक्रेनको युद्ध र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण थप समस्या भएको छ । यसभन्दा पनि ठूलो समस्या हामीलाई सरकारले चालेको पछिल्लो कदमले समस्या भएको छ । विदेशी मुद्राको सञ्चिती घटेको कारण देखाउँदै सरकारले लामो समयदेखि आयातमा बन्द गरिदिँदा अटोमोवाईल्स क्षेत्रलाई बढी प्रभाव पारेको छ । यसले गर्दा हामी अटोमोवाईल्स व्यवसायी धराशायी बन्ने अवस्थाका पुगेका छौँ । 

पछिल्लो समय विदेशी मुद्राको सञ्चिती पनि बढेको देखिन्छ । र, पनि आयात बन्द गरिएको छ । तपाईँहरू समस्यामा पर्‍यौ भनेर भनिरहँदा सरकारले किन सुनिरहेको छैन ? 

हामी समस्यामा परिसक्यो आयात खोल्नु पर्छ भनेर बारम्बार भनिरहेका छौँ । पछिल्लो पटक सरकारसंग भएको वार्तामा आयात खोल्ने विषयमा सकारात्मक भएका थिए । अब असोज २८ गतेसम्म आयात बन्द गरिएको छ यो पछि आयात खुल्ला हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । अहिले विदेशी मुद्राको सञ्चिती बढ्नुका साथै देशका आर्थिक सुचकांकहरु सकारात्मक भएको छन् । यो हिसाबले अब आयात रोक्नु पर्ने आवश्यक छैन । हुन त पहिले पनि सवारी साधनको आयात रोक्नु पर्ने अवस्था थिएन । कार, जिप भ्यानको आयात जुन छ त्यसले कूल आयातको एक दुई प्रतिशत मात्रै हिस्सा हो । तर, यसको राजस्वको योगदान भने करिब ९ प्रतिशत रहेको छ । एक लाखको सवारीसाधनको साढे दुई लाख राजस्व सरकारलाई तिरेका हुन्छौं । गाडीको आयात रोक्दा सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । 

अहिले देखिएको समस्या नेपाल मात्र देखिएको समस्या होइन । अन्तराष्ट्रियस्तरमा नै आर्थिक मन्दी देखिएको छ । नेपालमा भने आयात रोकेर अर्थतन्त्र सुधार गर्न खोजिएको छ । अटोमोवाईल्सको आयात खुलाउनेबारे आवाज बुलन्द गर्न नाडाले नसकेको हो की ?  

अटोमोवाईल्सको आयातको विषयमा नाडाले बारम्बार आवाजहरू उठाइरहेको छ । आयात खुला गर्नेबारे अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भनिरहेका छौँ । उनीहरू आयात खोल्नका लागि सकारात्मक पनि रहेका छन् । तर, विभिन्न अर्थशास्त्री र सरोकारवाला निकायहरूको कुराहरू भने आयात खोल्नु हुँदैन भन्ने छ । यो ठूलो भोलुममा हुने भएकोले यसको असर अरुमा पनि पर्छ भनेर हौवा फैलाइएका छन् । चाहिने भन्दा बढी नकारात्मक हौवा फैलाइएको छ । अझै पनि सात आठ महिनासम्मलाई धान्न सक्ने विदेशी मुद्राको सञ्चिती छ । अर्थतन्त्र राम्रो गतिमा रहेको छ । यसले गर्दा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि पनि आयात रोक्नु हुँदैन । 

आयात प्रतिबन्धका कारण हामी व्यवसायीहरू मार्कामा रहेका छौँ । हामी अन्तर्गत रहेका हजारौँ डिलरवालाहरू, कर्मचारी पनि मार्कामा रहेका छन् । दशैंको मुखमा समेत कर्मचारीहरूलाई हामी बेतलबी बिदामा राख्नु पर्ने बाध्यता आइलाग्यो । कति शोरुमहरु बन्द भएको अवस्था छ । आयात बन्द गर्नु भन्दा पहिले ल्याइएका गाडीहरू पनि सकिएको अवस्था छ । यसले गर्दा पनि व्यवसाय बन्द गर्नु पर्ने स्थितिमा छन् । 

आयात खोल्ने बित्तिकै नेपालीहरूले बढी मात्रामा गाडी किनिहाल्छन् भन्ने सरकारको डर जस्तो देखिन्छ । यस्तो पनि हुन्छ र ?

तपाईँले भन्नु भएको ठिक कुरा हो । सरकारले पनि त्यस्तै सोचेको देखिन्छ । आयात खुला गर्ने बित्तिकै बढी मात्रामा गाडी खरिद गर्नेहरू हुन्छन् भन्ने होइन । अहिलेको आर्थिक मन्त्रीको अवस्था हेर्दा धेरै मात्रामा गाडी खरिद गर्नेहरू हुन्छन् जस्तो लाग्दैन । उता नेपाल राष्ट्र बैंकले एलसीमा कन्ट्रोल गरेको अवस्था छ । सामान्यतया मानिसहरू गाडी किने चढ्न सक्ने अवस्था छैनन । यसले गर्दा स्वतः आयात पनि नियन्त्रित हुन्छ । 

एकातिर तपाईँहरू गाडी आयात खोल्नु पर्छ भन्नुहुन्छ अनि फेरि अर्कोतिर खोलेर पनि खासै माग छैन भन्नु हुन्छ । यस्तो अवस्थामा आयात खोल्नुको के अर्थ ?

अहिले गाडी छैन भन्यो भने माग पनि हुन्न । किनभने गाडी नै आयात भएको छैन भन्ने भए पनि त ग्राहक शोरुमसम्म समेत आउँदैनन् । दशैंको समयमा समेत गाडीको बुकिङ आएन । यो हुनुमा शोरुममा गाडी नै छैन भन्ने भएर हो । कम्तीमा शोरुममा गाडी उपलब्ध भयो भने त ग्राहकहरू भिजिटको लागि समेत आउँछन् । गाडी ल्याउन पाइयो भने विभिन्न अफरहरू अनि एक अर्कामा प्रतिस्पर्धा हुन्छ । यसो भयो भने ग्राहकहरू पनि आकर्षित हुन्छन् । 

विद्युतीय सवारी साधन सरकारले विभिन्न छुट सहित आयात गर्न दिइरहेको छ । हामीले अहिले तुरुन्तै विद्युतीय सवारीको प्रयोग बढाउन सकिन्छ ?

सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि गरेको पहल सकारात्मक छ । तर, अझै पनि पाँच सात वर्ष पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गरेर विद्युतीय बढाउन सम्भव छैन । विकसित देशहरूमा विभिन्न छुटहरू दिएर विद्युतीय सवारीको प्रयोग बढाउनका लागि पहल गरिरहँदा त पूर्णरुपमा विद्युतीय बनाउन सकिरहेको छैन । हाम्रो भूगोलको हिसाबले हेर्ने हो भने पनि तत्कालै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सम्भव छैन । पेट्रोलियम पदार्थबाट चल्ने गाडीको विकल्पमा विद्युतीय सवारी साधनहरूको प्रयोग गर्न तत्काल सम्भव छैन । 

असोज २८ गतेसम्मको लागि सवारी साधनको आयात बन्द गरिएको छ । त्यो पनि पछि आयात खुल्ला भएन भने कति बेरोजगार हुन्छन् र कति लगानी अफठ्यारोमा पर्छ ? 

हाम्रो अटोमोवाईल्सको वार्षिक व्यापार एक खर्बको हो । हामीले त्यही अनुसारको आयात गरिरहेका हुन्छौं । अहिले हाम्रो तथ्यांक हेर्ने हो भने एक लाखको हाराहारीमा यस क्षेत्रमा प्रत्यक्ष रोजगारी दिएका छौँ । अन्य दश लाखको हाराहारीमा अप्रत्यक्षरुपमा अटोमोवाईल्ससंग सम्बन्धित हुनुहुन्छ । आयात रोकिदा अहिले यसको २५ प्रतिशत प्रभाव परेको छ । लामो समयदेखि आयात बन्द हुँदा कतिपय शोरुम बन्द भइसकेका छन् । आयातकर्ताहरूले जसोतसो धानिरहेका छन् भने डिलरवालाहरू बन्द गर्नु पर्ने स्थितिमा पुगेका हुन् । अब पनि आयात खुला गरिएन भने आयातकर्ता डिलरवालाहरू बन्द गर्नु पर्ने हुन्छ । 

धेरै क्षेत्रमा उधारो कारोबार भएको पाइन्छ । अटोमोवाईल्स क्षेत्रमा उधारो कारोबारको अवस्था कस्तो छ ? 

उधारो कारोबार हरेक क्षेत्रमा रहेको छ । उधारो कारोबार अटोमोवाईल्स क्षेत्रमा पनि रहेको छ । अटोमोवाईल्स क्षेत्रमा डाउन पेमेन्ट दिएर लैजाने अनि पछि दिन्छु भनेर लैजाने प्रविधि रहेको छ । लगिसकेपछि पेमेन्ट गर्नका लागि ढिला गरिदिने समस्या रहेको छ । बिस्तारै अटोमोवाईल्स क्षेत्रले पनि उधारो कारोबार बन्द गर्नु पर्ने परिस्थिति सिर्जना भएको छ ।  

प्रतिक्रिया दिनुहोस