काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका ११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका ११ गौगबु भण्डारी टोलमा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
यसैबीच रौतहट गौर नगरपालिका १ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित भारत सितामढी बैरगिनिया ६ बस्ने ३६ वर्षीय राज कुमार भगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० भी ०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक भगतलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस