aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जब पब्जी खेल्दा खेल्दै दुइ बालक भारत हानिए...

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, २७ असोज २०७९
जब पब्जी खेल्दा खेल्दै दुइ बालक भारत हानिए...

काठमाडौं । पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेका झापा भद्रपुरका दुई बालकलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।

भद्रपुर नगरपालिका–१० काफ्ले टोल निवासी–१३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्रयास दाहाल घरमा कसैलाई केही जानकारी नगराई एकाएक बेपत्ता भएका थिए ।

उनीहरू सोमबार दिउँसो २ बजे भद्रपुर–गलगलिया सीमा नाका हुँदै भारत गएका थिए । पश्चिम बंगलाको उत्तर दिनाजपुरस्थित इटाहार प्रहरीले मंगलबार उनीहरूलाई उद्धार गरी सुधार गृह चाइल्ड लाइनलाई जिम्मा लगाएका छन् ।

घटनाअनुसार बालकहरू सौगात र प्रयास गलगलिया रेलवे स्टेसन पुगेर सिलीगुड़ीतर्फ जाने राधिका पुर रेलमा चढे। उनीहरू भारत गएको घरमा कसैले थाहा नै पाएन ।

अबेर रातिसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले उनीहरूको खोजी सुरु गरे । उनीहरूको तस्बिर सामाजिक सञ्जालमा हालेर भाइरल नै बनाए । परिवारजनले बालक हराएको भन्दै भद्रपुर र गलगलिया प्रहरीलाई समेत जानकारी गराए ।

मंगलबार बिहान इटाहारको सडकमा दुई बालक घुमिरहेको भारतीय प्रहरीले देखेपछि उनीहरूलाई उद्धार गरी प्रहरी कार्यालय लगेका थिए । त्यसपछि भारतीय प्रहरीले दुवै बालकलाई जिल्लाको चाइल्ड लाइनलाई जिम्मा लगाए ।

भारतमा बालक भेटिएको सूचना पाएपछि दुवै बालकका अभिभावक उनीहरूलाई लिन इटाहार गएका छन् ।

प्रतिक्रिया दिनुहोस