
काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उद्योगी व्यवसायीहरुमा भने चिन्ता थपिएको छ । कोभिड महामारी र त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीका कारण थला परेका व्यवसायीहरु राजनीतिक दल र उम्मेदवारहरुबाट चन्दा माग्ने क्रम सुरु भएसँगै त्रासमा खिन्छन् । चुनावसम्म कसरी नेता तथा कार्यकर्ताको सम्पर्क बाहिर रहने भन्ने चिन्ता व्यवसायीमा यतिबेला छ ।
राजनीतिक दलहरुले महाधिवेशन, सम्मेलनजस्ता विभिन्न ठूला कार्यक्रमका लागि व्यवसायीसँग चन्दा माग्ने गरेका छन् । “विगतमा व्यापार व्यवसाय सहज थियो र चन्दा दिन पनि समस्या थिएन,” एक व्यवसायीले भने, “यसपटक भने हामी चरम आर्थिक संकटमा छौं, कहाँबाट चन्दा दिनु ? ”
उनका अनुसार व्यवसायीहरु यतिबेला राजनीतिक दल र नेताहरुको दबाब झेल्नुभन्दा कार्यालय र सार्वजनिक कार्यक्रममा कम जाने तथा फोन सम्पर्क नगर्ने लगायतका उपायमा छन् । चुनावले केही हदसम्म बजारमा तरतला आउने भए पनि व्यावसायिक जगतमा भने एकखालको त्रास सिर्जना भएको छ ।
“हामी विगत तीन वर्षदेखि घाटामा चलिरहेका छौं, स्टक पुँजी पनि सकियो,” एक व्यवसायीले भने, “हामीभन्दा त बरु नेताहरु नै धनी हुनुहुन्छ, उहाँहरुसँग हामीले माग्नुपर्ने अवस्था छ ।” निर्वाचनका बेला ठूला व्यापारीसँग अधिकांश पार्टीका नेताहरुले चन्दा माग्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस