काठमाडौं । विदेशी लगानीको न्यूनतम सिमा तोकिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विदेशी लगानीको सिमा तोक्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सिमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरिएको छ ।
त्यस्तै, बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली बमोजिम विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका ४ करोड १६ लाख ६२ हजार ३४३ बराबरका हुलाक टिकट र स्टेशनरीहरु मिनाहा गर्ने समेत निर्णय गरेको छ । यसकासाथै औषधि सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्री परिषद्को निर्णय छ ।
त्यसैगरि, विद्यालय क्षेत्र आयोजना कार्यक्रमका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता संयन्त्र, महाशाखाप्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस