काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर प्लेट सम्बन्धी नयाँ मापदण्ड निर्धारण गरेको छ । सोमबार एक सूचना जारी गर्दै विभागले यस्तो जनाएको हो ।
उक्त सूचनामा भनिएको छ, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्ट्रब्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्ट्रब्य ५, अनुसारको नम्बर प्लेट राख्नु ।’
विभागले तोकेको नयाँ मापदण्ड अनुसार साधारण नम्बर प्लेटमा सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४× ८ ईन्च हुनुपर्ने छ । त्यस्तै,साना सवारी मध्ये चार पाङग्रेको नम्बर प्लेटको साइज १२ ×७ ईन्च, तीनपाङग्रे टेम्पो आदिको नम्वर प्लेटको साइज १०×७ ईन्च, दुई पाङग्रे मोटरसाइकल, स्कुटर आदिको नम्वर प्लेटको साइज ८ × ५ ईन्च हुनु पर्नेछ ।
त्यसैगरी, इम्बोस्ड सवारी नम्बर प्लेट मा ठुला सवारी साधनको नम्बर अगाडीको ५२०×११० मिलिमिटर र पछाडीको ३४०×२०० मिलिमिटर हुनुपर्ने विभागले जनाएको छ ।
त्यस्तै, मझौला तथा साना चारपाङग्रे सवारी साधनको नम्बर अगाडीको ४३०×११० मिलिमिटर र पछाडीको २८०× १८० मिलिमिटर हुनुपर्ने, साना तिनपाङगे्र सवारीको नम्बर अगाडीको २४०×१३० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
विभागका अनुसार साना दुईपाङग्रे सवारीको नम्बर अगाडीको ३८०×८० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्नेछ । स्पष्ट देखिने र बुझीने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्न सम्बन्धित सबैलाई विभागले अनुरोध गरेको छ । साथै तोकिए बमोजिमको नम्बर प्लेट नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवारी हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस