काठमाडौं । सरकारी छात्रवृति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा. निकोलस भुसाल (कमल)ले आपक्ति जनाएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर डा. भुसालले आफूले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।
भुसालले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेर आफू समाजसेवा हुँदै राजनीतिमा होमिएको बताए । देश बनाउने उद्देश्यले आफूले एक वर्ष अघि त्रिभुवन शिक्षण अस्पतालको जागिर छाडेको सुनाए ।
भुषालले एक महिनाअघि उम्मेदवारी घोषणा गरेको सुनाउँदै छात्रवृत्तिबारे आफूमाथि कसुर लगाउँदै छ भन्ने बारेमा कसैले सुनाएको बताए । उनले भने, ‘विष्णु पौडेलले आफ्नै पार्टीका २ जना कार्यकर्ता लगाएर उजुरी हालिएको हो ।’ निर्वाचन आयोगले तपाईको उम्मदेवारी सदर हुन्छ भनिएपनि मध्यरातमा आएर बदर गरेको उनले गुनासो पोखे ।
आयोगको उक्त कदमविरुद्ध आफूले आजमात्र सर्वोच्च अदालतमा रिट दिएको उनले जनाए । उनले आफूले टिचिङ अस्पतालमा एमबीबीएसको छात्रवृत्ति पाएको सुनाए । रातारात षड्यन्त्र गरेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको आपक्ति जनाउँदै उनले आयोगले उम्मेदवारी खारेज गरेर आफ्नो मौलिक अधिकार हनन गरेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस