aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ असोज २०७९
राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल

सुर्खेत ।  कालीकोटको पचालझरना गाउँपालिका–४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि  सुर्खेतसम्म पुग्न गाडी पर्खिदा पनि पाएका  । 

एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्र्ने चिन्ताले  उनी दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगेका थिए । गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायजस्तै हजारौँ यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ । 

दसैँ मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्तिबीच बाटोमै अलपत्र छन् । रोकाय भने “म तीन दिनको यात्रापछि सुर्खेत आइपुगे, मजस्ता हजारौँ यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भन्े केही  जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।”

अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् ।

जुम्लाको तिला गाउँपालिकाका टङ्क न्यौपाने पनि यस्तै अवस्थामा छन । सडकअवरुद्ध बन्दा उहाँ आफ्नो कर्मथलो आउन सक्नुभएको छैन । हिमाली भेगका  नागरिकलाई हरेक साल यस्तै दुःख हुन्छ।  उन भने, “दसँैं तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिकरुपमा ठगिएका कर्णालीका नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।”

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ  । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका छन्,  जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी भने । 

धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले  नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ । 

जहाजमा टिकट पाउन पनि सहज छैन
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ, जुम्लाका तपेन्द्र भट्टराई भने, “विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै  टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि  विमानस्थलमा यात्रुको खचाखच छ ।” महँगो भाडा भए  पनि टिकट नै नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउछन् । 

जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । “बिरामी र लोकसेवाको  परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौँ । उनले भने, “पर्याप्त जहाज नहुँदा हामीलाई पनि समस्या छ ।” 

जिल्ला प्रशासन कार्यालयले भने हवाई उडान कम हुँदा समस्या रहेको जनाएको  छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी केशरी दसँै र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा दैनिक भीडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समवन्य भइरहेको बताउछन । 

“गत हप्ताको अविरल वर्षाले एक मात्र कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भीडभाड बढेको हो, अहिले पर्याप्त उडान गर्ने जाहाज पनि छैनन् । धेरै उडान गराउने कुरामा हामीले समन्वय गरिरहेका छौं उनले भने ।” मुगस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष गौतम पनि एयरलाइन्स कम्पनी नै बढी नहँुदा समस्या भएको बताउछन । 

यस्तै सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणले पनि यसै आर्थिक वर्षदेखि हुम्ला सिमकोटको लागि मात्रै उडान भर्दै आएकाले  यात्रुले नेपालगन्जनै  पुग्नुपर्ने  अवस्था छ । कर्णालीका अन्य जिल्लामा उडान पछिल्ला केही समय सुर्खेतबाट शून्य रहेको उक्त कार्यालयका  निमित्त प्रमुख प्रतिष्ठा आचार्यले जानकारी दिए । जहाज पूर्वतिर केन्द्रीत छन्, “सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा जहाज उडान करिब शून्य जस्तै छ ।”

एक हजार परिवार विस्थापित 
बाढीपहिरोले प्रदेशभर करिब एक हजार परिवार विस्थापित हुन पुगेका छन् । प्रहरीको तथ्याङ्कअनुसार नौ सय ९९ परिवारका सात हजार सात सय ६८ जना विस्थापित भएका हुन् । तीमध्ये सात सय ७६ घर पूर्णरुपमा क्षति भएको छ भने एक हजार एक सय ६३ घरमा आशिंक क्षति भएको छ । त्यसैगरी चार सय ४० घर उच्च जोखिममा रहेका र बाढीपहिरोमा परी ३६ जनाको मृत्यु २८ जना घाइते भएका र २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा ठूलो क्षति कालीकोटमा भएको छ । 

प्रतिकूल मौसमका कारण राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराउन कठिन भएको छ । बाढीपहिरोबाट पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरिरहे पनि सबै परिवारलाई राहत दिन कठिन  भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । विस्थापित परिवारका लागि दिने भनिएको राहत सामग्री सुर्खेतमा रहेको र सडक सञ्चालनमा आउने वित्तिकै वितरणमा तीव्रता दिइने सरकारकोे प्रतिक्रिया छ । 

प्रतिक्रिया दिनुहोस