
इटहरी । निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले अर्कैको नामको जग्गा हडपेर माछापालन गरेको पाइएको छ ।
इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन चौधरीले हडपेर माछापालन गरेको पाइएको हो । इटहरी–१७ बालग्राममा रहेको ८ ९घ० नक्सा नम्बरको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले करिब दुई महिनाअघिदेखि हडपेर माछापालन गरेका हुन् ।
‘घडेरी भएकाले हामी बेलाबेला मात्रै जग्गा हेर्न जान्थ्यौं,’ जग्गाधनी प्रदीपका छोरा अनमोलले राजधानीसँग भने, ‘२०६३ सालमा द्वारिकालालका बुबा नानुराम चौधरीको नाममा रहेको एक कट्ठा जग्गा हामीले किनेका थियौं ।’ पुर्जाअनुसार १ जेठ २०६३ मा नानुरामको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको छ ।
‘हुँदाखाँदाको जग्गा दादागिरी शैलीमा हडपेपछि हामीले उहाँलाई पटकपटक जानकारी गराए पनि वास्तै गर्नुभएन,’ पीडित अनमोलले द्वारिकालाललाई फोन सम्पर्क गरेको र चौधरीले भनेको कुरा उद्धृत गर्दै भने, ‘फोन गर्दा पनि कति किचकिच गरेको समय आएपछि पुरिदिन्छु भन्ने गर्नुभएको छ ।’
चौधरीले शक्तिको आडमा जग्गा हडपेको उनको आरोप छ । उनले भने, ‘जग्गा हडपेपछि हामीले इटहरी उपमहानगरपालिकामा निवेदन पनि हाल्यौं, प्रमुखमार्फत गत २७ भदौमा पत्र पठाइयो उहाँ (द्वारिकालाल)ले पत्र बुझ्न मान्नुभएन ।’
हुँदाखाँदाको ‘जग्गा भूमाफिया शैली’मा ज्यादती गरी हडप्नु अस्वाभाविक भएको उनको गुनासो छ । यहाँ अहिले झन्डै ८ लाख रुपैयाँ धूरले जग्गा बिक्री हुँदै आएको छ । यसरी हेर्दा एक कट्ठा जमिनको १ करोड ६० लाख रुपैयाँ हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस