aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सबैलाई किन चकित पार्दैछ चीन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
सबैलाई किन चकित पार्दैछ चीन ?

काठमाडौं । आइतबारबाट छिमेकी देश चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन सुरु हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टीका निम्ति महाधिवेशन हरेक पाँच वर्षमा हुने नियमित प्रक्रिया हो । तथापि उदाउँदो चीनको सत्तारुढ दलको सर्वोच्च निकायले लिने नीति र कार्यक्रमले चीन र समग्र विश्व कुनै न कुनै रूपमा प्रभावित हुने आजको विश्व परिस्थितिमा यो महाधिवेशन अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । चिनियाँ राजनीतिक प्रणालीमा सरकारले अवलम्बन गर्ने नीति कम्युनिस्ट पार्टीका निर्णयमा आधारित हुने गरेको छ । त्यसकारण पनि चिनियाँ कम्युनिस्ट पार्टी महाधिवेशनलाई अन्तर्राष्ट्रिय जगत्ले एउटा दल विशेषको महाधिवेशनको रूपमा भन्दा चीनको आगामी कार्यदिशा तय गर्ने कार्यक्रमका रूपमा बुझेको छ ।

आगामी सन् २०४९ सम्ममा चीनलाई ‘समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा अघि बढेको, सद्भावपूर्ण आधुनिक समाजवादी देश’ बनाउने लक्ष्य तय गरिसकेको चिनिया कम्युनिस्ट पार्टीले यो महाधिवेशनबाट निकै ठूलो निर्णय गर्ने देखिँदैन । बरु जनवादी गणतन्त्र चीन स्थापना भएको एक शताब्दी पुगेको वर्ष अर्थात सन् २०४९ भित्र राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना पूरा गर्ने पार्टीको पूर्वनिर्धारित गन्तव्य सफल बनाउन महाधिवेशनबाट आवश्यक थप निर्णय गर्ने देखिन्छ ।

सन् २०२१ अर्थात चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनलाई मध्यम ढंगले समृद्ध देश बनाउने लक्ष्यमा प्राप्त सफलताबाट उत्साहित चिनियाँ नेतृत्व आगामी लक्ष्य पूरा गर्न अझ प्रतिबद्ध भएर लाग्ने निश्चित छ । सन् २०२१ सम्म पूरा गर्न तय भएको लक्ष्यअन्तर्गत चीनले निरपेक्ष गरिबी अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस