aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

किशोर–किशोरीलाई हत्या गरेर एउटै खाल्टोमा पुरियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ३१ असोज २०७९
किशोर–किशोरीलाई हत्या गरेर एउटै खाल्टोमा पुरियो

काठमाडौं । २७ असोजकोे साँझ घरबाट निस्केका १४ वर्षका शरद आचार्य भोलिपल्ट बिहानसम्म पनि सम्पर्कमा नआएपछि घरपरिवार आत्तिए । दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भएका शरद तुलसीपुर उपमहानगरपालिका–१३ दमागरगाउँस्थित मावलीको घरमा बस्दै आएका थिए ।

सानै उमेरदेखि सँगै बस्दै आएका नाति हराएपछि मावलकी हुजुरआमा यामकुमारी खड्का आतिइन् । दमागरगाउँ प्रहरीचौकी हुँदै इलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । तर, प्रहरीले त्यति चासो दिएन ।

सोही ठाउँका १५ वर्षीया रोशनी महतारा पनि हराएपछि सबैले दुवै जना सँगै भागे कि भन्ने लख काटे । तर, पनि शरदका हजुरआमा र हजुरबा चुप बसेनन् ।

एकैदिन सम्पर्कविहीन भएका दुई बालबालिकाको फोन पनि नउठ्नु र सम्पर्कविहीन भएपछि गाउँमा आफन्तले खोजतलास गर्न छाडेनन् । सोही क्रममा स्थानीय एक जनाले राति करिब १२ बजे बालिका जनकल्याण सामुदायिक वनको जंगलमा ‘बचाऊ बचाऊ’ भन्दै कराएको सुनेको बताए । त्यसपछि खोजी कार्य जंगलतर्फ केन्द्रित गरियो । खोज्दै जाँदा सामुदायिक वनको जंगलको खोंचमा माटो खनेको जस्तो देखियो । आफन्तले माटो फालेर हेर्दा पहिला बालक आचार्यको शव भेटियो । त्यसपछि बालिका महताराको पनि ।

बालबालिकाको हत्या योजनाबद्ध तवरले गरिएको प्रहरीले अनुमान गरेको छ । ‘ठूलो खोंच रहेछ । पानीको धारले पारेको गहिरो खाडलमा हत्या गरेर पहिला बालिका त्यसमाथि बालकलाई राखेर पुरिएको रहेछ,’ प्रहरी निरीक्षक पर्वत केसीले भने ।

दुवै जनाको टाउको र मुख तथा शरीरका विभिन्न भागमा निलडाम रहेको छ भने बालकका औंला छियाछिया भएको पाइएको छ ।

त्यसो त बाबु र आमाबीच सम्बन्धविच्छेद भएपछि शरद मावली घरमा बसेर बढ्दै आएका थिए भने रोशनीका बुवा र आमा रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेका छन् । दुवै जना अम्बिकेश्वरी मावि अम्बापुरमा पढ्दै आएका थिए । स्थानीयले उनीहरूबीच प्रेम रहेको बताए पनि पुष्टि हुने आधार फेला परिसकेको छैन ।

दुई बालबालिकाको विभत्स हत्या भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस